चितवन । चितवनमा जारी मैयाँदेवी स्मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कोशी प्रदेश विजयी भएको छ । आज (आइतबार) भएको पहिलो खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध ८ विकेटको फराकिलो जित निकालेको हो । गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा कर्णालीले दिएको ८३ रनको सामान्य लक्ष्य बागमतीले १३ ओभरमा २ विकेट गुमाएर भेट्टायो । बागमतीको जितमा कप्तान सोनी पाख्रिनले नटआउट सर्वाधिक २८ रन बनाईन् ।
३० बल खेलेकी सोनीले २ चौका प्रहार गरिन् । ओपनर सेविका यादवले २८ बलमा १४ रन बनाईन् । कर्णालीकी एन्जिला थापाले १ विकेट हात पारिन् । त्यस अघि टस जितेर पहिलो ब्याटिङ रोजेको कर्णाली बागमतीको कशिलो बलिङ सामू निरिह बन्यो । १५ ओभरमा घटाईएको खेलमा कर्णालीले ७ विकेट गुमाउँदै ८२ रन मात्र जोड्न सक्यो । कर्णालीकी ओपनर त्रिसना विश्वकर्माले २२ तथा कप्तान किरण कुवँरले १७ रन जोडे । त्रिसनाले ३५ बलमा ३ चौकाको मद्दतमा २२ तथा कप्तान किरणले २८ बलमा २ चौकाको मद्दतमा १७ रन बनाए ।
कर्णालीलाई सस्तैमा समेट्न बागमतीकी पूजा साउदले ३ विकेट लिईन् । ३ ओभर बलिङ गरेकी पूजाले एक मेडन राख्दै १६ रन खर्चिन् । क्रिश्मा गुरुङ, मनिषा उपाध्याय र लक्ष्मी रुम्बाको नाममा एक-एक विकेट रह्यो । आजको दोस्रो खेलमा कोशी प्रदेशले मधेसलाई ४ विकेटले हरायो । समूह ए मा रहेको कोशीको यो पहिलो जित हो । कोशी यस अघि पहिलो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो । मधेसले भने लगातर दुई खेल दुई हार व्यहोरेको छ । मधेस पहिलो खेलमा सुदुरपश्चिमसँग पराजित भएको थियो ।
कप्तान बिमला मलहा १३ र प्रिया मलहा १२ रनमा रनआउट भए । मधेसकी मोनिका साहले ३ विकेट लिए पनि हार टार्न सकिनन् । त्यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको मधेसले साना प्रविनको ३७ रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १३ रन बनाएको थियो । ३९ बल खेलेकीले सानाले ५ चौका प्रहार गरिन् । सीमा कुवँरले ३३ बलमा ३ चौकाको मद्दतमा २१ तथा भूमी सिंहले ११ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
कोशीकी भवानी कमातीले २ तथा हिरनमयी रोय, प्रिया मलहा र निरा राजवंशीले समान एक-एक विकेट हात पारे । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगितामा सोमबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा बिहान ९:३० बजे कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश भिड्नेछन् भने दोस्रो खेल दिउँसो १:३० बजे बागमती र लुम्बिनी प्रदेशबीच हुनेछ ।