दीपेन्द्रले थाले ‘मेयर’को छायांकन, खगेन्द्र बने भरत थापा

निर्देशक दीपेन्द्र के. खनालले नयाँ फिल्म ‘मेयर’को छायांकन सुरु गरेका छन् । बिहीबार लैनचौरको एक होटलमा अख्तियारसामु मेयर पात्रले दिएको स्पष्टीकरणको दृश्य खिच्दै छायांकन सुरु गरिएको हो । अभिनेताद्वय खगेन्द्र लामिछाने र टीका पहारीले पहिलो सट दिए । फिल्ममा खगेन्द्र मेयरको भूमिकामा देखिँदैछन् । छायांकन सेटबाट प्राप्त तस्वीरमा उनी चश्मा लगाएर देखिएका छन् ।

बिहीबार काठमाडौंको छायांकन सकाएर शुक्रबार सर्लाही जाने तयारीमा निर्माण टिम छ । सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन संघर्षमा आधारित भएर फिल्म बन्न लागेकाले बागमतीमै सम्पूर्ण छायांकन हुनेछ । फागुन १२ गते बागमती नगरपालिकाले शैक्षिक महोत्सवका साथै सांस्कृतिक कार्यक्रम गर्दैछ । सर्लाहीमा फिल्मको पहिलो सिन त्यहीँ खिचिनेछ ।

फिल्ममा खगेन्द्रले मेयर थापाको भूमिका निर्वाह गर्दैछन् । त्यसका लागि गत महिना उनले बागमतीमै बसेर मेयर थापाको स्वभाव, आनीबानी, कार्यशैली, व्यक्तित्वको बारेमा अध्ययन गरेका थिए । यो फिल्ममा उनको अपोजिटमा अभिनेत्री वर्षा राउतले अभिनय गर्दैछन् । पटकथा प्रडक्शनको ब्यानरमा बन्न लागेको फिल्ममा महेश दवाडीको पटकथा छ भने कृष्ण बहादुर थापाले खिच्नेछन् ।

फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय रहनेछ । यो फिल्मबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् । निर्देशक खनालकी छोरी श्रृष्टिमाँ खनाल र शर्मिला पाण्डे निर्माता रहेको फिल्मका कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् ।

सेयर गर्नुहोस्