भरतपुर भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन शिर्ष नेता चितवनमा

चितवन: औपचारीक रुपमा आजदेखि सुरु हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा सहभागी हुन शिर्ष नेताहरु चितवन आउने क्रम सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल बिहीवार चितवन आइपुगेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आउँदै छन् । चितवन क्षेत्र नं २ का सांसद समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुने बताइएको छ ।

भरतपुर महानगरका १० वटा वडा चितवन २ मा पर्छन् । नारायणी नदी किनारमा हुने भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन भरतपुर महानगरले प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको जनाएको छ ।

उच्च पदस्थ व्यक्तिहरुको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । आज बिहानदेखि नै विशिष्ट व्यक्तिहरुको आगमन सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

सेयर गर्नुहोस्