चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुने बताएका छन् ।
नारायणी किनारमा आज भएको भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री प्रचण्डले जंगलमा शिकार गरेको इतिहास बनाएको चितवनमा भ्रमण वर्ष ऐतिहासिक कदम हुने बताएका हुन् । उनले भ्रमण वर्षले सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रियस्तरमा उकास्ने अपेक्षा गरेका छन् । उनले भने, ‘ देशलाई सन्देश मात्र दिएको छैन यथार्थमा नेतृत्व नै गरेको छ । ६ लेन रोड, विमानस्थल बिस्तारको कार्यक्रम, शिक्षा र स्वास्थ्यको हब बन्दै गर्दै गर्दा महानगरपालिका, भरतपुरबासी आमजनसमुदायलाई हार्दिक धन्यवाद र शुभकामना दिन चाहन्छु ।’
प्रधानमन्त्री प्रचण्डले भरतपुरसहित समग्र चितवनको विकासमा आफूले सहयोग गर्ने र योगदान गर्ने अवसर पाएको अनुभव सुनाएका छन् । प्रधानमन्त्रीले भने, ‘कृषि, सहकारी, उद्योग पर्यटन क्षेत्रलाई आधार बनाएर अगाडि बढिरहेको छ । प्रशस्त पूर्वाधार रहेका छन् । यस महानगरपालिकामा पर्यापर्यटन, खेल , धार्मिकको, आर्थिक केन्द्रको रुपमा क्रमश अगाडि बढ्दै छ । समथर भूभाग, हिमश्रृंखला, मानव निर्मित पर्यटकीय गन्तव्यहरु छन । प्रतिष्ठा वृद्धि गर्न, पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने उद्देश्यले गरिएको भ्रमण वर्ष ऐतिहासिक कदम हो ।’
प्रधानमन्त्रीले भ्रमण वर्षको उद्घाटनबाट देशमा नयाँ र सकारात्मक सन्देश गएको विचार राखे । उनले भने, उद्घाटन शत्रको कार्यक्रमबाट देशका मुख्य दलहरु एक ठाउँमा उभिने संस्कारको विकास भएको छ । २२ वटा पर्यटकीय गन्तव्य पहिचान गर्नु र सौराहादेखि माडीको सोमेश्वरदेखि, बागमती प्रदेशको होचो भूभागको ५० बढी गन्तव्यको प्रवद्र्धन गर्नेछ । सिंगो देशलाई केही गर्न सकिँदैन भन्ने नकारात्मक भाष्यलाई इच्छाशक्ति भयो भने केही गर्न सकिन्छ भन्ने भ्रमण वर्षले सन्देश दिएको छ । ’ उनले आफूले सुशासनको क्षेत्रमा र सामाजिक न्यायको क्षेत्रहरुमा जनताले महसुस गर्ने गरी काम गरेको दाबी गरे ।’
‘भ्रमण वर्ष कोसेढुङ्गा सावित हुन्छ’
प्रधानमन्त्री प्रचण्डले राष्ट्रकै पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोसेढुङ्गा सावित हुनेमा विश्वास व्यक्त गर्नुभयो । “भरतपुर भ्रमण वर्षले रत्ननगर नगरपालिकाको सौराहाबाट माडी नगरपालिकाको सोमेश्वर गढीसम्म, राप्तीको परेवाकोटबाट खैरहनीको कुमरोजसम्म, कालिकाको सिन्ते झरनाबाट गैँडाकोटको मौलाकालिकासम्म, चितवनको उच्च भाग इच्छाकामनाको सिराइचुलीबाट बागमती प्रदेशकै होचो भू–भाग भरतपुर महानगरपालिकाको गोलाघाटसम्मका ५० भन्दा बढी गन्तव्यको प्रवद्र्धन गर्नेछ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो चितवनको पर्यटनमा गुणात्मक फड्को हुनेछ ।”
विशिष्ट पाहुनाबाट एक सय ५० वर्षदेखि चितवनका जङ्गलमा सिकार यात्रा गरेको इतिहास रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा सर्वप्रथम जङ्गल सफारीको सुरुआत टाइगर टपले मेघौली नजिक चितवनबाट भएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “यी सबै आधारले ‘भरतपुर भ्रमण वर्ष २०२४’ ले आफ्नो लक्ष्य हासिल गर्नेमा विश्वस्त हुन सकिन्छ ।”
पछिल्लो सात वर्षमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिङ्गो देशलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले एक दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा आम जनसमुदायले गुणात्मक परिवर्तनको अनुभूति गरेको बताउनुभयो ।
प्रधानमन्त्रीले गौरवका आयोजना चक्रपथ, छ लेनको सडक, तटबन्धन, सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, विमानस्थल, नारायणी ‘सी–बीच’ मोडल तथा विभिन्न पूर्वाधारको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भरतपुरले देशको अर्थतन्त्र र विकास मोडलमा ‘रोलमोडल’ कायम गर्ने बताउनुभयो ।
“विविध प्राकृतिक सम्पदाले समृद्ध चितवनको भरतपुर नेपालकै उत्कृष्ट स्थानीय सरकारको सूचीमा अग्रसर महानगरपालिका हो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कृषि, सहकारी, उद्योग, पर्यटनजस्ता क्षेत्रलाई आर्थिक विकासको आधार बनाएर निरन्तर आर्थिक समृद्धि हासिल गरिरहेको यस महानगरपालिकामा पार्क, सङ्ग्रहालय, विमानस्थल, रिङरोड, लिङ्करोड, हुलाकी मार्ग, पूर्व–पश्चिम राजमार्ग, होटल, रिसोर्टजस्ता पर्यटन विकासका लागि प्रशस्त पूर्वाधार छन् ।”
चितवन देशकै मुख्य आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “जैविक विविधता प्राकृतिक सुन्दरता र स्वच्छ वातावरण प्रवद्र्धन गर्दै पर्यटन विकासमा निरन्तर अग्रसर यस महानगरपालिकामा एकातर्फ पर्या–पर्यटन, वन्यजन्तु, खेल, स्वास्थ्य, कृषि, धार्मिक पर्यटन आदिको क्रमिक विकास भएको छ ।”
अनुपम प्राकृतिक सम्पदाले सम्पन्न महानगरपालिकामा निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमशृङ्खलाको दृश्यावलोकन एवं समथर तराईको भू-भागको दृश्यावलोकनलगायतका प्राकृतिक आकर्षण रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिकस्थल, गढी, दरबार, सङ्ग्रहालय, पार्क, धार्मिकस्थल, मानवनिर्मित २२ वटा आकर्षण पर्यटकीय गन्तव्य रहेको बताउनुभयो ।
पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन कोरोना कहरबाट पिल्सिएको पर्यटन व्यवसायलाई उकास्न भरतपुर महानगरपालिकाको यो कदमको प्रशंसा गर्नुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठा वृद्धि गर्न प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्पदाको प्रचारप्रसार गरी पर्यटकको सङ्ख्या र बसाई अवधि वृद्धि गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रसँगको सहकार्यमा पहिलोपटक आयोजना गर्न लागेको यस बृहत् प्रवद्र्धनात्मक अभियान ‘भरतपुर भ्रमण वर्ष २०२४’ पर्यटन प्रवद्र्धनमा एउटा ऐतिहासिक कदम हो ।”