गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा भयो : प्रमुख दाहाल

चितवन : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा भएको बताएकी छन् । विद्यालयस्तरीय मेयर्स कप क्रिकेट लिग प्रतियोगिताको समापन गर्दै दाहालले रंगशाला परिसरमा आउँदा दिने गरेको बाचा पुरा भएको प्रष्ट पारेकी हुन् ।

प्रमुख दाहालले २ दिन अगाडि टेन्डरको आह्वान भएकाले केही महिनाभित्र निर्माण कार्य सुरु हुने र साढे २ वर्षभित्र निर्माणको कार्य पुरा हुने उल्लेख गरिन् । ‘सम्पूर्ण नेपालीका लागि खुसीको विषय हो, आज फरक अनुभूति भएको छ,’ उनले भनिन्, ‘सधैँ यहाँ आएर रंगशाला बन्छ, बनाउने छौ मात्र भन्ने गर्दथ्यौ । अब बन्ने पक्का भएको छ ।’

उहाँले महानगरपालिकाले विद्यालयस्तरीय लिग प्रतियोगिता पहिलो पटक गरेको भए पनि पूर्ण रूपमा सफल भएको बताइन् । महानगरपालिकाले क्रिकेट मात्र होइन छिट्टै फुटबल, भलिबल र अन्य खेल पनि आयोजना गर्ने उनको भनाई थियो ।

प्रमुख दाहालले अब पुरुषको मात्र नभइ महिलाको पनि यस्ता प्रतियोगिता हुने प्रष्ट पारिन् । सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताइन् । नेपाल क्रिकेट संघ क्यानलाई यसका लागि आवश्यक वातावरण मिलाउन अनुरोध गरिन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् ।

यसैबीच, प्रतियोगिताको उपाधि अर्किड स्कुलले उचालेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वाल्मीकि शिक्षा सदनलाई २० रनले पराजित गर्दै अर्किड रनिङ ट्रफी हात पार्ने पहिलो टिमका रूपमा नाम लेखाउन सफल भएको हो ।भरतपुर महानगरपालिकाले आयोजनामा माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा महानगरभित्रका १० सामुदायिक र १० संस्थागत विद्यालयका २० क्रिकेट टिम सामेल थिए ।

सेयर गर्नुहोस्