माग बढेसँगै मोरङका वनमा निगुरो टिप्नेहरूको भीड लाग्न थालेको छ । स्थानीयवासी निगुरो टिपेर व्यापार गर्न व्यस्त रहेका जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताउनुभयो ।
काठमाण्डाैलगायत शहरी क्षेत्रबाट तरकारीकाे रूपमा प्रयोग हुने निगुरोको माग बढेपछि वन क्षेत्रबाट ठूलो परिमाणमा निगुरो सङ्कलन हुन थालेको राईले बताउनुभयो । जनसेवा सामुदायिक वनबाट मात्रै वर्षमा झन्डै तीन करोड रुपैयाँको निगुरो बाहिरिने गरेको उहाँकाे भनाइ छ ।
सङ्कलकहरूले निगुराे प्रतिमुठा १५ रुपैयाँका दरले सङ्कलन केन्द्रमा बिक्री गर्छन् । सङ्कलन केन्द्रले प्रतिमुठा १७ रुपैयाँका दरले व्यापारीलाई दिने गरेका छन् ।
पूर्व–पश्चिम राजमार्गको उर्लाबारीदेखि बेलबारीसम्मका सडक किनारमा पनि जङ्गलबाट टिपेर ल्याएको निगुरो बिक्रीका लागि राखिएका भेटिन्छन् । बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश गिरी निगुरो टिप्नेहरूको भीड बढेका कारण कार्यविधिमा उल्लेख गरेर सङ्कलकहरूका लागि परिचयपत्रको व्यवस्था गर्ने तयारी गरेको बताउनुहुन्छ ।
जङ्गलबाट टिपिने भएकोले पूर्णरूपमा अर्गानिक हुने निगुरो स्वादिलो र स्वस्थ्यकर हुन्छ । कृषि विज्ञ डा. राजेन्द्र उप्रेती प्रोटिन, भिटामिन ‘ए’, क्याल्सियम लगायतका पोषक तत्त्व पाइने निगुरो निकै स्वस्थ्यकर तरकारी रहेको बताउनुहुन्छ ।