भरतपुर । भरतपुर अस्पतालले ‘वेलनेस क्लिनिक’ (Wellness Clinic) सञ्चालनको तयारी गरेको छ । अस्पतालले यही मंसिर १५ गतेबाट क्लिनिक सञ्चालनमा ल्याउने गरी तयारी थालेको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार वेलनेस क्लिनिकमा उच्च रक्तचाप, तौल, उचाई, मधुमेह लगायतका उमेर अनुसारका साधारण स्वास्थ्य परीक्षण हुनेछन् । बिहान सात बजेबाट नै यसका लागि टिकट काट्ने व्यवस्था हुनेछ भने ७ बजेबाट नै परीक्षण गर्न पाईने छ । स्वास्थ्य बीमाबाट नियमित औषधि लिनुपर्ने बिरामीले पनि यहाँबाट सेवा लिन सक्ने उहाँको भनाई छ ।
मेसु प्रा.डा.पौडेलले भन्नुभयो “बिरामी नभए पनि उमेर अनुसारका आवश्यक जाँचहरु (एज स्पेशिफिक जनरल हेल्थ चेकअप) गर्न वेलनेस क्लिनिकको व्यवस्था गरेका हौं ।” क्लिनिकमा डाईटिसिनको समेत व्यवस्था हुने भन्दै उहाँले खानपान, स्वस्थ जीवनशैली र अन्य स्वास्थ्य परामर्श पनि दिईने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “अस्पताल आउने सबै बिरामी हुँदैनन् सेवाग्राही पनि हुन्छन् ।”
क्लिनिकलाई निकट भविष्यमा नै योग शिक्षा समेत दिने गरी विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “योग शिक्षा दिने योजना छ, त्यसका लागि ठाउँको खोजी गरिरहेका छौं ।”