राष्ट्रिय वाणिज्य बैंक अग्रणी बैंक बन्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं, मङ्सिर १६ गते । 

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बर बैंक बनाउने गरी कार्य गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशीक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिबार उद्घाटन गर्नुहुँदै अर्थ मन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुराहरुलाई रुपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैंकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुश गर्नेगरी कार्य गर्न बैंक व्यवस्थापनलाई अनुरोध गर्नुभयो । सेवा विस्तारमा सक्रियताका साथ लागेको वाणिज्य बैंकले सेवा सुधारका विषयमा पनि आफुलाई केन्द्रित गरेर सेवाग्राहीको बढि रुचाईएको बैंक बनाउन उहाँले आग्रह गर्नुभएको बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरु प्रदान गर्न आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले कृषि, उर्जा, व्यापार, शिक्षा, स्वास्थ्या, उद्यम व्यवसाय, निर्माण, नविकरणीय उर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको बताउनुभयो । सहज, छिटो छरितो र सेवाग्राही केन्द्रित सेवा प्रवाहमा आफुहरु सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैंकका हरेक गतिविधिलाई सूचना प्रविधिसंग जोड्दै लैजाने दावी गर्नु भयो ।

यसैगरी, कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैंकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, उर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताउनुभयो । उहाँले वित्तीय साक्षरता, समाजिक समुदायिक कार्यलाई जोड दिँदै नागरिकसँग वाणिज्य बैंकको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको बताउनुभयो । प्रतिस्प्रर्धी बजारको माग अनुसार बैंकले सेवा र सुविधाहरुलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुश गरी बैंकले आफ्नो कार्यलाई परिमार्जित रुपमा अगाडि बढाएको बताउनुभयो ।

साझा प्रतिवद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै प्रमुख कार्यकारी अधिकृत खनालले बैंकलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग भए बैंक उत्कृष्ट बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशको अर्थतन्त्रमा देखिएको असहज अवस्थाका बावजुद बैंकले आफ्ना सूचकहरुलाई व्यवस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान दिइरहेको स्मरण गराउनुभयो ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्यालले ब्यजदरमा अहिले भईरहेको एकल अङ्कको ब्याजदरलाई स्थीर बनाउन आवश्यक रहेको बताउनुभयो । यसैगरी कार्यक्रममा बुटवल उपमहानगर पालिकाको वडा नं. ४ का वडा अध्यक्ष नरेश्वर पौडेलले आर्थिक अवस्थामा देखिएको चुनौतीहरु पार गर्न राष्ट्रिय वाणिज्य बैंकले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

यसैगरी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले बैंकको सेवा प्रवाहमा सुधारको सुरुवात भइरहेको प्रति खुसी व्यक्त गर्नुभयो । बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन उपकार्यकारी अधिकृत पवन रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु, कम्पनी सचिव लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममको पूर्व संध्यामा वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

हाल सात वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोर्ड सेवा, पिओएस सेवा, क्रेडिक कार्ड, डेबिट कार्ड, आइपिएस, स्मार्ट क्यूआर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ्ग, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने यूएसएसडी मोवाइल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

सेयर गर्नुहोस्