काठमाडौँ, मंसिर १७-
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सले जितका लागि जनकपुर बोल्ट्ससामु १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रनको योगफल तयार पारेको हो। जारी एनपीएलमा बनेको यो सर्वाधिक योगफल हो।
सातौँ विकेटका लागि अर्जुन घर्ति र सोमपाल कामीले ५६ रनको साझेदारी गरेपछि कर्णालीले मध्यम योगफल तयार पारेको हो। अर्जुनले १९ औँ ओभरमा लगातार दुई छक्का र २ चौका प्रहार गरे। २२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाएका अर्जुन रनआउट भए। सोमपाल १३ बलमा २९ रनमा नटआउट रहे। अलराउण्डर गुल्सन झाले २७ बलमा १ चौका र ३ छक्का सहयोगमा ३६ रन बनाउँदा किशोर महतोको बलमा बोल्ड आउट भए।
यसअघि पहिलो खेलमा विराटनगरविरुद्ध जनकपुरले १ सय २८ रनको लक्ष्य पूरा गर्दै पहिलो जित निकालेको थियो।






