काभ्रे- 

 काभ्रे जिल्लाको विकट महाभारत गाउँपालिकामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले शुभारम्भ गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाको बनखु, गोकुले, घर्तिछापमा आयोजना गरिएको शिविरमा १ हजार ६ सय ५१ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले शिविर उद्घाटन गर्दै भौगोलिक रूपमा विकट महाभारत गाउँपालिकाको स्वास्थ्य सेवा सुदृढ बनाउन यहाँको आधारभूत अस्पताललाई व्यवस्थित बनाउन दक्ष जनशक्ति र स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा, पेट तथा छाती सम्बन्धी रोगको परीक्षण, उपचार तथा परामर्श, बाल रोगको परीक्षण, उपचार तथा परामर्श, प्रसूति तथा स्त्रीरोगको परीक्षण, उपचार तथा परामर्श, मुख तथा दाँत, नाक, कान, घाँटी सम्बन्धी रोगको परीक्षण, उपचार तथा परामर्श सेवा, क्षयरोगको पहिचान, उपचार र परामर्श सेवा उपलब्ध गराइएको थियो ।

नसर्ने रोगको पहिचानका लागि रक्तचापको मापन, रगतमा चिनीको जाँच तथा पिसाबमा चिनी र प्रोटिनको जाँच, निःशुल्क परिवार नियोजन सेवा अन्तर्गत पुरुषहरूको लागि स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) तथा महिलाहरूका लागि लामो अवधिको परिवार नियोजनका साधन (आई यु सि डी र इम्प्लान्ट) राख्ने शिविर, पाठेघरको मुखमा क्यान्सर देखिन सक्ने सम्भावना भएका महिलाहरूका लागि निःशुल्क सेवा उपलब्ध भएको हो । भिडियो एक्स-रे र क्षयरोग पहिचानका लागि छातीको एक्स-रे सेवा उपलब्ध गराइएको छ । आँखा रोगको परीक्षण, उपचार तथा परामर्श सेवा, अपाङ्गता परिचयपत्र वितरणका लागि शारीरिक परीक्षण र आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा उपलब्ध गराइएको जनस्वास्थ्य कार्यालय काभ्रे प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिनुभयो ।

वृहत् स्वास्थ्य शिविरमा ९ सय ७५ जनाको आँखा जाँच गरिएकोमा १ सय १० जनामा मोतिया विन्दु अप्रेसन गर्नुपर्ने देखिएको छ । आँखा परीक्षण आज पनि घर्तिछापमा भइरहेको छ । मोतिया विन्दुको समस्या देखिएका बिरामीको उपचार भोली मङ्सिर २१ गते घर्तिछाप स्वास्थ्य चौकीमा हुनेछ ।

काभ्रेको कर्णाली भनेर चिनिने महाभारत गाउँपालिकाले सबै नागरिकको स्वास्थ्यमा पहुँच पुर्‍याउन हरेक वर्ष वृहत् स्वास्थ्य शिविर आयोजना गर्दै आइरहेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले जानकारी दिनुभयो ।