नेपालले बिआरआईमा हस्ताक्षर गर्दा भारत तर्सिनु पर्दैनः रघुवीर महासेठ

काठमाडौँ –

पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका सचिव रघुवीर महासेठले चीन सरकारसँग नेपालले बिआरआईमा हस्ताक्षर गर्दा भारतले आपत्ति जनाउन नहुने बताएका छन्।

शुक्रबार काठमाडौँमा न्युज एजेन्सी नेपालले ‘प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआई कार्यान्वयन’ सम्बन्धमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री महासेठले बिआरआई परियोजनाबाट नेपालमा बनेका रेल, सडकलगायत अन्य कनेक्टिभिटीको विकास हुँदा भारतले पनि लाभ लिनसक्ने बताए।

उनले चीन–नेपाल जोड्ने रेल र सडक पूर्वाधार बन्दा भारतले पनि प्रयोग गर्नसक्ने भएकाले नेपालले बिआरआईमा सम्झौता गर्दैमा तर्सनुपर्ने आवश्यकता नरहेको बताए। उनले केरुङ–काठमाडौँ र काठमाडौं–रक्सौल रेल बन्दै गर्दा सबैभन्दा बढी फाइदा भारतलाई हुने दाबी गरे।

उनले केरुङ–काठमाडौँ र काठमाडौं–रक्सौल रेल तथा सडक पूर्वाधार बन्दा चीनबाट भारतले महिना दिन लगाएर ल्याउने सामान एक दिनमा भारत पुर्‍याउनसक्ने भन्दै भारत बिआरआईबाट तर्सिनु नहुने बताए। उनले नेपालले कुनै भारत विरोधी भावनाले प्रेरित योजना स्वीकार गर्न नसक्ने भन्दै बिआरआई फ्रेर्मवक परियोजना भारत विरोधी नभएको जिकिर गरे।

उनले नेपाल सरकारले चीनसँग बिआरआई परियोजनामा हस्ताक्षर गरेसँगै विकासको ढोका खुलेको दाबी गरे। उनले बिआरआई फ्रेमवर्कमा बन्ने सडक पूर्वाधारहरुमा अझै ओलाङ्चुङगोला, तमोरलगायतका आयोजनाहरु समावेश गरिन बाँकी रहेको बताए।

सेयर गर्नुहोस्