काठमाडौँ, मङ्सिर २२
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था ललितपुरले आज आफ्नो १६ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ। सङ्घीय संसदका सम्माननीय सभामुख देवराज घिमिरेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा १८०० भन्दा बढी ललितपुर जिल्ला भरिका शिक्षकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सम्माननीय सभामुख देवराज घिमिरेले शिक्षक हित सहकारी संस्था २०६५ सालमा स्थापना हुँदा प्रभात माध्यमिक विद्यालयका शिक्षकहरूको सक्रियता र विद्यालयकै एउटा कोठामा सञ्चालन गरिएको संस्था आज दर्जनौं कार्यक्रमका साथ अगाडि बढेको र आफु प्रमुख अतिथि हुन पाउँदा हर्ष व्यक्त गर्नुभयो।
आज सहकारीको विषयमा बजारमा छ्यापछ्याप्ती नकारात्मक कुराहरू उठिरहेको बेलामा पनि ती सबै कुराहरूबाट टाढा रहेर सबैको मनमुटु जित्न सफल भएकोमा शिक्षक हित बचत तथा सहकारी संस्थालाई खुलेर प्रशंसा गर्नुभयो। सहकारीले बालबालिकाका, वृद्धवृद्धा, तथा मृत्यु पश्चात दिइने खर्च दिइरहेकोले यसलाई घटाउने होइन अझै बढाउने सुझाव समेत सभामुख घिमिरेले दिनुभयो।
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शुक्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसइइ र कक्षा १२ उत्तीर्ण सेयर सदस्यका ५४ जना छोराछोरीहरूलाई नगद तथा प्रमाणपत्र दिएर सम्मान गरिएको थियो। यसैगरी पीएचडी र एमफिल गरेका छ जना शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो। यसै क्रममा ३४ जना जेष्ठ सेयर सदस्यहरूलाई पनि सम्मान गरिएको थियो।
साधारणसभामा नेपाल राष्ट्रिय शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष विष्णु भण्डारीले शिक्षकहरूद्वारा सञ्चालित ५४ जिल्लाका सहकारीलाई एकत्रित बनाएर बैंकिङ कारोबारमा लैजानुपपर्नेमा जोड दिनुभयो।
साधरणसभामा सहकारीका सञ्चालक समितिका अध्यक्ष शुक्र थापाले आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन पेशगर्नुभएको थियो।
साधारण सभामा संस्थाका आवश्यक विभिन्न नीति र कार्यक्रमहरू बन्दसत्रबाट पास गरिएको थियो। आगामी पाँच वर्षको लागि संस्थाले तयार पारेको व्यावसायिक रणनीतिक योजना पनि बन्द सत्रबाट सर्वसम्मत पास भएको कुरा संस्थाका अध्यक्ष थापाले बताउनुभयो। कार्यक्रम जाउलाखेल स्थित लभली ब्याङ्केटमा सम्पन्न भएको थियो।