रवि लामिछानेको मानवअधिकार हनन भएको भन्दै रास्वपाले दियो उजुरी

२३ मंसिर, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

२ कात्तिकमा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको उजुरीमा उल्लेख छ । राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षण गराइएको छ ।

राज्य संयन्त्रले नियोजित रुपमा सञ्चारमाध्यमहरूको प्रयोग गरी लामिछानेलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न गरेको रास्वपाले उजुरीमा उल्लेख गरेको छ ।

लामिछानेविरुद्ध भएका मानवअधिकार हनन् भएको र घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिनको माग रास्वपाले गरेको छ ।

राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक मावनअधिकारको रक्षाका लागि मानवअधिकार आयोगबाट सक्रिय कदमको अपेक्षा रास्वपाले गरेको छ ।

 

सेयर गर्नुहोस्