१३ माघ, काठमाडौं
बचतकर्ताको पाँच करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेर ललितपुरमा रहेको शुभ समृद्धि सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सञ्चालक समिति सदस्य फरार भएका छन्।
ललितपुरको मानभवनमा कार्यालय रहेको यो सहकारीले आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर ५ करोड १८ लाख १६ हजार १९० रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरले पाँच करोड बढी रकम ठगी गरेको निष्कर्ष निकाल्दै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा पठाएको थियो । प्रहरी प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा सञ्चालक समितिका १० जनालाई प्रतिवादी बनाउँदै १० माघमा मुद्दा दायर गरेको छ ।
प्रतिवादी हुनेमा सहकारीका अध्यक्ष रामेछाप घर भएका ३८ वर्षीय निरबहादुर श्रेष्ठ, उपाध्यक्ष ३४ वर्षीय सञ्जय निरौला, सचिव ३२ वर्षीय सुमन कार्की, कोषाध्यक्ष ३८ वर्षीय रेशमलाल भट्टराई, सञ्चालक समिति सदस्य ३१ वर्षीय विकाश शिवाकोटी, ३१ वर्षीया भावना तिमल्सिना, ३७ वर्षीय केदारबाबु कटुवाल, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ३१ वर्षीय विवश मिधुन मगर, सुपरीवेक्षण समितिका सदस्य ३४ वर्षीय प्रेमबहादुर बस्नेत, अर्का सदस्य ३८ वर्षीया शर्मिला शाक्य छन् ।