जेनजी समूहको आन्दोलन र प्रदर्शनका कारणले अस्तव्यस्त भएको पर्साका गतिविधि सामान्यतर्फ फर्किन लागेको छ । गत भदौ २३ र २४ गतेको विषम परिस्थितिले यहाँको सरकारी कार्यालयको सेवाप्रवाह र विद्यालयको पठनपाठन कार्य ठप्पजस्तै रहेको थियो ।
त्यसैगरी, वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखाले पनि आजदेखि विद्यालय खोलेर आवश्यक सरसफाइका काम अघि बढाउन अनुरोध गरेको छ । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले आज विद्यालय खोलेर विद्यालयको कक्षाकोठा तथा शौचालय सरसफाइ गर्न अनुरोध गर्नुभएको छ । “विद्यालयको खानेपानीको ट्याङ्कीलगायतमा अनिवार्य रूपमा क्लोरिन राख्न पनि अनुरोध गर्दछौँ”, उहाँले भन्नुभयो, “विद्यालयले आवश्यक सुरक्षा सतर्कता अपनाएर पठनपाठन कार्य अघि बढाउन पनि अनुरोध गरिन्छ ।”
जिल्ला प्रशासन कार्यालयले पनि शनिबारदेखि निषेधाज्ञाको समय बढाएर रातको समयमा मात्र कफ्र्यू कायम राखेको छ । यहाँको बजार क्षेत्रमा पनि सर्वसाधारणको चहलपहल पनि विस्तारै बढ्दै गइरहेको छ । रासस