साउदी अरबको बहुराष्ट्रिय समुद्री रक्षा गठबन्धन प्रस्तावलाई १४ देशको समर्थन

रियाद । साउदी अरबले अन्तर्राष्ट्रिय जलमार्ग र विश्व व्यापारको सुरक्षा गर्ने उद्देश्यले प्रस्ताव गरेको बहुराष्ट्रिय समुद्री रक्षा गठबन्धनलाई १४ देशले समर्थन गरेका छन् । साउदी अरबको रक्षा मन्त्रालयका अनुसार गठबन्धनलाई समर्थन गर्ने देशहरूमा साउदी अरब, कुवेत, बहराइन, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन, यमन, बङ्गलादेश, नाइजेरिया, सुडान, जिबुटी र सोमालिया रहेका छन् ।

रक्षा मन्त्रालयका अनुसार उक्त प्रस्तावबारे छलफल गर्न आयोजित बैठकमा ४३ देशका सैनिक प्रमुख तथा प्रतिनिधिहरू प्रत्यक्ष वा भिडियो माध्यमबाट सहभागी भएका थिए । युरोपेली सङ्घ (ईयू)को प्रतिनिधिमण्डलले पनि बैठकमा सहभागिता जनाएको थियो ।

बैठकमा व्यापारिक जहाज, ऊर्जा बोक्ने जहाज र समुद्री पूर्वाधारमाथि भएका आक्रमण, तिनले समुद्री यातायात, विश्व आपूर्ति शृङ्खला र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा पार्ने प्रभाव बारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।

बैठकमा साउदी अरब गठबन्धनको संस्थापक तथा नेतृत्वकर्ता देश हुने र यसको मुख्य मुख्यालय पनि साउदी अरबमै रहने सहमति भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रस्तावित गठबन्धन साझा उद्देश्य र सिद्धान्तमा सहमत हुने सबै देशका लागि खुला अन्तर्राष्ट्रिय रक्षात्मक पहल हुनेछ। यसको मुख्य उद्देश्य समुद्री सुरक्षा सुदृढ बनाउने, नौवहनको स्वतन्त्रता सुनिश्चित गर्ने तथा विश्व व्यापारको सुरक्षा गर्ने रहेको छ ।

सेयर गर्नुहोस्