माडीमा प्रहरीद्धारा मर्दनियालाई कुटपिट प्रकणः संलग्न प्रहरीलाई कारवाही गरिदै

गत असोज २२ गते राति माडी नगरपालिका–२ का कालुराम मर्दनियालाई घरमै पुगेर प्रहरीको एउटा समूहले कुटपिट गरेपछि घटनामा संलग्नहरुलाई कारवाहीको दायरमा ल्याइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय भरतपुरमा बुधबार माडी नगरपालिकाका मेयर, उपमेयर, थारु कल्याणकारिणी सभाका जिल्ला तथा क्षेत्रीय सभापतिसहित स्थानीय जनप्रतिनिधि र अगुवाहरुसहितको छलफलमा घटनामा संलग्न प्रहरीहरुलाई कारवाहीको दायरमा ल्याउन लागिएको जानकारी गराईएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले घटना हुनु दुःखद भन्दै दोषीलाई कारवाही गर्न जिल्ला प्रहरी कार्यालयले प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । प्रजिअ अर्यालले इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षकको सरुवा समेत भइसकेको जानकारी दिए । उनले गलत काम गर्ने कोही पनि नउम्किने भन्दै पीडित पक्षलाई आश्वस्त रहन आग्रह गरे । उनले पीडितको पक्षबाट थारु कल्याणकारिणी सभा क्षेत्र नं.१ माडीले राखेको माग पुरा गर्ने प्रतिवद्धता जनाए ।

थारु कल्याणकारिणी क्षेत्र नं.१ की सभापति शुक्रमिया महतोले छलफलको क्रममा चार बुँदे माग राखिन् । घटनामा संलग्नलाई कारवाही, माडीमा शान्ति सुरक्षा कायम गर्न, घाइतेको पूर्णरुपमा उपचार र जिम्मेवारी लिनुपर्ने, पीडित कालुराम मर्दनियालाई उल्टै सुन हराएको निहुँमा २ लाख बढी क्षतिपुर्ती तिर्नुपर्ने गरि दवाबमा गरिएको सहमती खारेज गर्न माग राखिन् । ‘हाम्रो आन्दोलन रोकिएको छैन, यी माग पुरा नभए हामी कडा आन्दोलन गर्न बाध्य हुन्छौं’–महतोले भनिन् ।

छलफलमा सहभागि माडी नगरपालिकाकी मेयर ताराकाजी कुमारी महतो, उपमेयर खेमप्रसाद महतोले घटनामा संलग्न इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षकसहित ३ जना प्रहरीलाई तत्काल कारवाही गर्न छलफलमा उपस्थित गराउन माग गरे । माडीका जनता धेरै संयम रहेको भन्दै आलटाल गरिए माडीका जनतालाई आश्वास्त पार्न गाह्रो हुने भन्दै बेलैमा सबै पक्ष मिलेर समस्या समाधान गर्न आग्रह गरेका छन् । उपमेयर महतोले भने–‘घटना बारे मैले अलि ढिला जानकारी पाए, माडीका जनताका कुटिएका छन्, स्थानीय प्रहरी निरीक्षक समस्या समाधान गर्न तर्फ चासो नदेखाउँदा समस्या जटिल बन्दैछ ।’

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले घटनामा संलग्नहरुलाई कारवाहीको प्रक्रिया अघि बढाई सकिएको जानकारी गराए । उनले प्रहरीबाट भएको घटनाको जिम्मेवारी आफू लिने र दोषीलाई कारवाहीको दायरामा ल्याइने प्रतिवद्धता जनाए । ‘अबदेखि माडीमा प्रहरीबाट त्यस्तो गल्ती हुन दिने छैनौं, दोषीलाई कारवाहीको दायरमा ल्याई सकेका छौं, घाइतेको उपचार गराइ रहेका छौं’–प्रहरी उपरीक्षक पुरीले भने ।

छलफलमा वडा नं.२ का वडा अध्यक्ष एवं माडी नगरपालिकाका प्रवक्ता डण्डपाणी पौडेल, थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरी, स्थानीय टोलबासी अगुवा, थारु अगुवाहरुले घटनाको घोर भत्र्सना गर्दै घटनामा संलग्न प्रहरीलाई सबैको सामु सार्वजनिक गरिनुपर्ने, कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग राखेका थिए । यो विषयमा बिहीबार पुनः पीडित पक्षलाई राखेर उनीहरुको माग सम्बोधन गर्दै सहमती गर्ने तयारी छ ।

 

सेयर गर्नुहोस्