समुद्री आँधीको चपेटामा भारतको पूर्वी राज्य, भारी वर्षाको चेतावनी

बंगालको खाडीमा समुद्री आँधी मोंगा विकसित भइरहँदा भारतीय मौसम विभागले अलर्ट जारी गरेको छ । देशका पूर्वी तटीय क्षेत्रका धेरै राज्यहरूमा भारी वर्षाको चेतावनी दिइएको छ ।

यसैबीच, अरब सागरमा बनिरहेको नयाँ ‘डिप्रेसन’ले गुजरात र महाराष्ट्रलगायत पश्चिमी तटीय राज्यहरूमा बेमौसमी भारी वर्षा गराइरहेको छ । वर्षाले विशेष गरी किसानहरू प्रभावित भएका छन् । वर्षाका कारण नगदे बाली नष्ट भएको छ । मौसम विभाग (आईएमडी) ले गुजरातदेखि केरला र पश्चिमी राजस्थानसम्मका क्षेत्रहरूको लागि सुन्तला रंगको चेतावनी जारी गरेको छ । मध्य प्रदेश, भित्री कर्नाटक र तेलंगानाका लागि पनि भारी वर्षाको चेतावनी जारी गरिएको छ ।

बेमौसमी वर्षाले गुजरात, महाराष्ट्र र पश्चिमी राजस्थानलाई सबैभन्दा बढी असर गरेको छ । मौसम विभागको बिहानको बुलेटिनले तीनै राज्यहरूको लागि सुन्तला रंगको चेतावनी जारी गरेको छ । गोवा, कर्नाटक, पश्चिमी मध्य प्रदेश र केरलाका लागि भारी वर्षाको चेतावनी जारी गरिएको छ । अरब सागरमा विकसित भइरहेको ‘डिप्रेसन’को कारण यो वर्षा भइरहेको बताइएको छ ।

विगत ४८ घण्टादेखि गुजरातका सौराष्ट्र र कच्छ जिल्लाहरूमा मुसलधारे वर्षा भइरहेको छ । मौसम विभागले बिहान ५ः३० बजेदेखि पूर्व–मध्य अरब सागरमा बनिरहेको डिप्रेसन गएको छ घण्टामा २० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–उत्तरपूर्व (महाराष्ट्र–गोवा)तर्फ सर्दै गएको जनाएको छ । यो हाल मुम्बईबाट ७२० किलोमिटर पश्चिम–दक्षिणपश्चिम, गोवा (पणजी)बाट ७५० किलोमिटर पश्चिम, लक्षद्वीप (अमिनीदिवी)बाट ८५० किलोमिटर उत्तरपश्चिम र मंगलोरबाट ९४० किलोमिटर पश्चिम–उत्तरपश्चिम अर्थात् समुन्द्री क्षेत्रमा छ ।

सेयर गर्नुहोस्