‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक

पत्रकार तथा लेखक दीपेन्द्र शर्माद्वारा लिखित ‘युद्ध पत्रकारिता’ पुस्तक विमोचन गरिएको छ । आज यहाँ आयोजित लोकार्पण समारोहबीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्धकालमा पत्रकारिताको भूमिकाबारे चर्चा गर्दै त्यसबाट प्राप्त राजनीतिक उपलब्धिको जगमा टेकेर अघि बढन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुस्तकलाई ‘युद्धको ऐना’का रूपमा चित्रण गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो,“पत्रकारिता आफँै कठिन काम हो । युद्धको बेलामा पत्रकारिता गर्ने भन्ने कुरा त झनै फलामको चिउरा चपाउनु नै थियो । सबै हिसाबले यो किताब युद्धको ऐतिहासिक दस्ताबेज बनेको छ ।”

उहाँले उक्त पुस्तकमाथि टिप्पणी राख्ने क्रममा जनयुद्धकालमा जाजरकोटमा बिताएको तीन वर्ष स्मरण गर्दै पुस्तकले त्यही कालखण्डलाई जीवन्तता दिएको बताउनुभयो । “हामीले दिल्लीबाट ‘नेपाल आवाज’ पत्रिका निकाल्थ्यौँ । जाजरकोटका विकट पहाडमा रेडियो गणतन्त्रको एन्टेना २५–३० मिटर रूख चढेर राख्थ्यौँ”, अध्यक्ष दाहालले स्मरण गर्नुभयो, “लडाइँ र पढाइको फ्युजन, बारुद र मसीको घोल, त्यसको रिजल्ट युद्ध हो भनिन्थ्यो । त्यसैको जगमा गणतन्त्र आयो भन्दा मलाई गर्व लाग्छ ।”

पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पुस्तक इतिहासको साक्षी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “युद्धमा कलम समात्ने पत्रकारले भोगेका जोखिम, चुनौती र सफलतालाई लेखकले दस्ताबेज बनाउनुभएको छ । यो इतिहासको दस्ताबेजीकरण हो ।”

प्रेस सेन्टरका संस्थापक अध्यक्ष महेश्वर दाहालले पुस्तकलाई नेपालको ऐतिहासिक कालखण्डको महत्त्वपूर्ण कृतिका रूपमा टिप्पणी गर्नुभयो । १४ वर्षको उमेरदेखि जनयुद्धको अभियानमा जोडिनुभएका लेखक शर्माले युद्ध पत्रकारिता यात्रालाई पुस्तकको रूप दिएको बताउनुभयो ।

पुस्तकमा सात अध्यायमा युद्धकालीन पत्रकारिताको विस्तृत विश्लेषण गरिएको समीक्षकहरूले बताउनुभयो । मिसन पत्रकारिता, भूमिगत सञ्चार, वैचारिक सङ्घर्ष र जनयुद्धका गतिविधिहरूको दस्तावेज पुस्तकले समेटेको छ । रासस

सेयर गर्नुहोस्