धानको रैथाने जात संरक्षण गर्दै बाँकेका गङ्गानारायण

बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका किसान गङ्गानारायण चौधरी धानको परम्परागत रैथाने जात संरक्षण गर्दै आउनुभएको छ ।

कृषि ज्ञान केन्द्रको सहयोग र समन्वयमा चौधरीले विगत पाँच वर्षदेखि रैथाने कालानमक जातको धानखेती गर्दै आउनुभएको छ । यो वर्ष ३२ कठ्ठा क्षेत्रफलमा लगाएको धानखेतीबाट ४० क्विन्टल कालानमक धान उत्पादन भएको गङ्गानारायणले जानकारी दिनुभयो ।

“उत्पादन अझ धेरै हुने अनुमान गरिए पनि अन्य धान स्याहारी सकेकोले कालानमक धानमा चरा, मुसा र कीराको सङ्क्रमण बढेर समस्या भयो”, उहाँले भन्नुभयो,“ करिब छ महिनामा तयार हुने भएकाले यसमा रोग सङ्क्रमणको जोखिम हुन्छ ।” यसको उत्पादनमै बढी खर्च लाग्ने भएकाले मूल्य महङ्गो पर्ने गरेको छ ।

यो धान असारमा रोपेपछि मङ्सिरको पहिलो साता मात्रै काट्न तयार हुन्छ । सिँचाइ पनि पर्याप्त चाहिन्छ । करिब छ महिनामा तयार हुने भएकाले यसमा रोग सङ्क्रमणको जोखिम हुन्छ । अन्य धान असोज–कात्तिकमा भित्र्याउँदा त्यहाँका पतेरा किरा कालानमकमा जाने र धान पोकट बनाउने समस्या हुने गरेको कृषक चौधरीले बताउनुभयो ।

कालानमक चामल बिक्रीमा भने समस्या छैन । बजारमा लैजाना साथ राम्रो मूल्यमा बिक्री हुने चौधरीले बताउनुभयो । अन्य धानको दर करिब रु तीन हजार ५०० क्विन्टल हुँदा कालानमक भने प्रति क्विन्टल रु दश हजारमा बिक्री हुने गरेको छ ।

बाँकेमा किसानले रैथाने धानको तुलनामा धेरै फल्ने र छिट्टै पाक्ने रामधान, राधा ४, एमपी ६०, गोरखनाथ लगायतको हाइब्रिड धान रोप्दै आएका छन् । किसान व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि परम्परागत रैथाने कालानमक धानको जात हराउँदै गएको छ ।

लगानीअनुसारको प्रतिफल नपाएको भन्दै कृषकहरूले लगाउन छाड्दै गएपछि यो धान लोप हुने अवस्थामा पुगेको हो । सिँचाइ र स्याहार सुसार बढी गर्नुपर्ने र रोग तथा कीराको प्रकोप बढी देखिने भएकाले कृषकहरु यसको साटो हाइब्रिड धानतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ वागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘भिआइपी’देखि पर्यटकहरूको रोजाइ भए पनि लागतअनुसार कम उत्पादन हुने भएकाले कृषकहरू कालानमक धानको साटो अन्य धान लगाउन थालेका हुन् । मसिनो र बास्नादारको सुचीमा पर्ने यो धान कालो भएकाले यसलाई कालानमक भनिएको हो । यो करिब १४० दिनमा तयार हुन्छ ।

“विगतमा बाँके र बर्दियामा यसको खेती हुन्थ्यो, तर अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै उत्पादन गरेर लाभ लिनतिर लागे”, सूचना अधिकारी पाठकले भन्नुभयो, “कालानमकको खेती शून्य प्रायः भएपछि अहिले यसको प्रवद्र्धन र प्रचारमा लागेका छौँ ।”

बाँकेमा परम्परागत रैथाने धानको जात कालानमक संरक्षणको लागि कृषि ज्ञान केन्द्रले कृषकस्तरमा लगाएर प्रचार प्रसारको थालनी गरेको छ । कृषि अनुसन्धान परिषद् खजुराबाट प्राप्त गरेको बीउलाई बाँकेको बैजनाथ–८ टिटिहिरियामा प्रयोग गरिएको उहाँको भनाइ छ । रासस

सेयर गर्नुहोस्