नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई शुक्रबार (पुस ४) सम्बोधन गर्दै ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पुर्याउने दृढता व्यक्त गरेका हुन् ।
‘हामी एकताको भावनाका साथ नयाँ उचाइका साथ अगाडि बढ्नेछौँ । केही केही समस्याहरू समय समयमा पार्टीभित्र थोरै देखापर्ने पनि गरेका छन् । आगामी दिनमा हामी त्यस्ता खालका कमजोरीहरू कुनै पनि प्रकट नहुन भन्ने कामना गर्दछौँ,’ ओलीले भने ।
पार्टीमा केही समस्या देखिएको उल्लेख गर्दै ओलीले आगामी दिनमा त्यस्ता खालको कुनै पनि कमजोरी हुन नदिने बताए । नवनिर्वाचित केन्द्रीय कमिटीमा नेताहरूलाई एक स्वर भएर पार्टीको विधान महाधिवेशनले तय गरेका वैचारिक, संगठनात्मक र कार्यक्रमिक नीति अनुसार अघि बढ्न पनि सचेत गराए ।
आर्मीले मार्च गरेजस्तो पार्टीका हरेक सदस्यहरूले एक स्वर, एक तालका साथ अघि बढनुपर्ने ओलीको भनाइ थियो ।
‘हाम्रो एक आवाज हुनुपर्दछ । दोस्रो विधान महाधिवेशनले पारित गरेका वैचारिक, सगठनात्मक, कार्यक्रमिक नीतिअनुसार हामी अगाडि बढ्नेछौँ । र, ती नीतिहरूमा एक स्वर भएर परेडमा आर्मीले मार्च गरेजस्तो हाम्रा हातहरू पनि बराबर हल्लिने, खुट्टाहरू पनि बराबर चल्ने गरी ताल मिलाएर हामी अघि बढ्नेछौँ,’ ओलीले भने ।
अध्यक्ष ओलीले टोलटोलमा सुरक्षा समिति बनाएर आम जनताको सुरक्षाको काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । न्युज एजेन्सी नेपाल






