रवि र बालेनबीच ५ घण्टा भेटवार्ता, चुनावी तालमेल र सहकार्यबारे के-के भयो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच सोमबार राति भेटवार्ता भएको छ। कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको यो छलफलले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरिदिएको छ।

सोमबार साँझ ८ बजे सुरु भएको वार्ता मंगलबार बिहान १ बजेसम्म अर्थात् करिब ५ घण्टा चलेको थियो। राति अबेरसम्म चलेको यस छलफलमा रास्वपाका तर्फबाट सभापति लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागी थिए भने बालेनको समूहबाट उनी आफैँ र वार्ता समिति संयोजक कुमार बेन उपस्थित थिए।

स्रोतका अनुसार, यो भेटघाट केवल शिष्टाचार भेटमा मात्र सीमित थिएन। दुई पक्षबीच आगामी निर्वाचनहरूमा हुनसक्ने सम्भावित चुनावी तालमेल र दीर्घकालीन राजनीतिक सहकार्यका विषयमा गम्भीर विचार-विमर्श भएको छ। यद्यपि, दुवै पक्षले छलफलको औपचारिक निर्णय भने सार्वजनिक गरेका छैनन्।

लामो संवादपछि सभापति लामिछाने र मेयर शाह एउटै गाडीमा चढेर त्यहाँबाट बाहिरिएका थिए। संवादलाई सकारात्मक रूपमा अघि बढाउने र आगामी दिनमा पनि निरन्तर छलफल गर्ने दुई पक्षबीच सहमति भएको बुझिएको छ।  पछिल्लो समय सत्ता समीकरण र आगामी चुनावी रणनीतिको चर्चा चलिरहँदा वैकल्पिक शक्तिका रूपमा हेरिएका यी दुई नेतृत्वको भेटलाई निकै अर्थपूर्ण मानिएको छ।

सेयर गर्नुहोस्