प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि आएको प्रस्ताव स्वीकार गरिनः पम्फा

नयाँलाई अवसर दिनुपर्ने भन्दै नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन्। उनले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि उम्मेदवार नबन्ने घोषणा गरेकी हुन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘फागुन २१ मा हुने निर्वाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिन । प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद !’

उनको भनाई जस्ताको त्यस्तैः

अभिबादन सबैलाई ।
फागुन २१ मा हुने निर्बाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिन । प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद !
तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष चुनाव जितेको म एक्ली महिला उम्मेदवार हुँ । त्यसमाथि पनि काठमाडौं उपत्यका जस्तो जटिल निर्वाचन क्षेत्रमा उठेर जित्नु फलाम चीउरा चपाउनु जस्तै हो । आगामी निर्वाचनमा उठनेबारे देशभरिका साथीहरूबाट जिज्ञासा आइरहेका छन ।
यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु । म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु । अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।
यसपटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन म सक्रिय भूमिका निर्वाह गर्नेछु । साथै, अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ । त्यसैले अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने मेरो मत रहेको छ ।
सेयर गर्नुहोस्