आगामी राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसले बागमती प्रदेश तर्फको एक सिटमा चितवनकी गीता देवकोटालाई उम्मेदवार बनाएको छ । माघ ११ मा हुने निर्वाचनमा नेपाली कांग्रेसले चितवनको महासमिति सदस्य रहेकी देवकोटालाई उम्मेदवार बनाएको हो ।
उनी पेसाले मौरीपालक कृषक हुन् । रत्ननगर नगरपालिका–१४, डुम्री चोक निवासी देवकोटालाई ३२ वर्षे राजनीतिक यात्रामा पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् । कांग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन भएकी देवकोटा विगत ३२ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय छिन् । देवकोटाले उम्मेदवारीलाई उनको लामो राजनीतिक सङ्घर्ष र सामाजिक योगदानको रूपमा लिएको बताइन् ।
कांग्रेसको वडा तहको सदस्यबाट सुरु भएको उनको राजनीतिक यात्रा महिला संघ, नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दल हुँदै जिल्ला पार्टीका विभिन्न तहगत सङ्गठनहरूमा रहेर छ । हाल उनी नेपाली कांग्रेसको महासमिति सदस्य हुन् । उनी यसअघि दुई पटकसम्म महाधिवेशन प्रतिनिधि भइसकेकी छिन् ।
उनी २० वर्षको उमेरमा एकल महिला भएकी थिइन् । उनका श्रीमान् नेपाल वायुसेवा निगममा कार्यरत थिए । २०४९ सालमा कार्यालयबाट घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । कलिलो उमेरमा श्रीमान् गुमाएकी उनले राजनीति र पेसालाई आफ्नो शक्तिमा परिणत गरिन् ।
उनी व्यावसायिक रूपमा मौरी पालन गर्छिन् । हाल उनीसँग १३० घार मौरी छन् । कुनै समय उनले २०० घारसम्म मौरी पालेकी थिइन् । उमेर बढ्दै गएकाले अहिले सङ्ख्या केही घटाएको उनको भनाइ छ । २०२९ सालमा रत्ननगरमा जन्मिएकी देवकोटाले कक्षा १० सम्मको औपचारिक शिक्षा हासिल गरेकी छिन् । उनी आफ्ना राजनीतिक अनुभव र सामाजिक भोगाइ नै आफ्नो सबैभन्दा ठुलो योग्यता भएको बताउँछिन् ।






