रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी

२७ माघ, काभ्रे । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाले मृतकको संख्या ९ पुगेको अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९ पुगेको हो । सीडीओ थापाका अनुसार, ६ जनाको उपचारका क्रममा अस्पतालमा र तीन वटा शव घटनास्थलमा फेला परेको हो ।

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।

उद्धार गरेकाहरूलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ ।

आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बाटोबाट अन्य थप यात्रु चढेनचढेको खुलेको छैन ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको सीडीओ थापाले बताए ।

सडकबाट खसेको बस नदीमा डुबेको छ ।

सेयर गर्नुहोस्