स्विट्जरल्यान्डमा रेल दुर्घटना, ५ जना घाइते

जेनेभा , फागुन ५ –

दक्षिणी स्विट्जरल्यान्डमा क्षेत्रीय रेल लिकबाट खस्दा पाँच जना घाइते भएका छन् । प्रहरीले दिएको जानकारीअनुसार दुर्घटना सोमबार गोप्पेनस्टाइन नजिकै भारी हिमपात भइरहेका बेला समुद्री सतहबाट करिब १ हजार २१६ मिटर उचाइमा भएको हो ।

प्रारम्भिक अनुसन्धानमा रेल गुड्नुअघि हिमपहिरोले पटरी छेकेको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे सरकारी अभियोजक कार्यालयले अनुसन्धान थालेको छ । ‘पाँच जना घाइते भएका छन्, घाइतेमध्ये एक जनालाई अस्पताल लगिएको छ,’ प्रहरीले भनेको छ । यो घटना अल्प्स क्षेत्रमा पछिल्ला दिनमा देखिएको घातक हिमपहिरो शृङ्खलापछि भएको हो ।

शुक्रबार फ्रान्सको भाल द इजेर स्की रिसोर्टमा हिमपहिरोले बगाउँदा ३ जना स्कियरको मृत्यु भएको थियो । त्यसमध्ये एक फ्रान्सेली नागरिक र अन्य दुई विदेशी रहेको अधिकारीहरूले बताएका छन् । इटालीमा पनि पछिल्लो सात दिनमा पहाडी क्षेत्रमा १३ जनाको मृत्यु भएको उद्धार टोलीले जनाएको छ ।

मर्नेमध्ये १० जनाको ज्यान हिमपहिरोमा परेर गएको थियो । हालको कमजोर हिम तह, आँधीका कारण थुप्रिएको हिउँ र नयाँ हिमपातले अल्प्स क्षेत्रमा अत्यन्त जोखिमपूर्ण अवस्था सिर्जना गरेको विशेषज्ञहरूले बताएका छन् । न्युज एजेन्सी नेपाल

सेयर गर्नुहोस्