छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी नदी किनारमा झोला, सल र मोबाइल फेला

कर्णाली, चैत २ — सुर्खेतको गुर्भाकोट नगरपालिका–११ पिप्ले गाउँकी माया कठायत दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार माया ११ वर्षीया छोरी आशा र पाँच वर्षीय छोरा दीपक कठायतसहित आइतबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन्। श्रीमान् भूपेन्द्र कठायतले बेलुका छोराछोरीसहित श्रीमती सम्पर्कविहीन भएको जानकारी प्रहरी चौकी गुमीलाई दिएका थिए।

सूचना पाएपछि वरिष्ठ हवल्दार गोपाल गुरुङको नेतृत्वमा चार सुरक्षाकर्मी र वडाध्यक्षसहित स्थानीयले खोजतलास सुरु गरेका थिए। खोजीका क्रममा घरदेखि करिब तीन किलोमिटर टाढा भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला परेको प्रहरीले जनाएको छ।

तीनै जनाको खोजीका लागि भेरी नदी र आसपासका क्षेत्रमा विभिन्न इलाका प्रहरी चौकीबाट ३५ जना प्रहरी तथा स्थानीयलाई परिचालन गरिएको छ।

सेयर गर्नुहोस्