काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले तत्काल उखु किसानको भुक्तानी गर्न सरकारसँग माग गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा सांसद सिंहले चिनी मिलले अझैं पनि उखु किसानको बक्यौता भुक्तानी नगरेको भन्दै तत्काल भुक्तानीको व्यवस्था गर्न माग गरेका हुन् । साथै उनले सरकारको अनुदान समेत किसानले प्राप्त गर्न नसकेकाले सरकारले दिने रकम पनि चाँडै उपलब्ध गराउन आग्रह गरे।
उनले रोपाइँको सिजन सुरू हुन लागेको समयमा मलको उपलब्धता हुन नसकेकाले मलको व्यवस्था गर्न पनि माग गरे। सांसद सिंहले बागमतीको कटानले सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १, २, ३, ४ मा करिब ५० हजारभन्दा बढी नागरिकहरूको उठीबास हुने अवस्था रहेको भन्दै यसतर्फ पनि ध्यान दिन माग गरे।






