काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले आजको संसद बैठक बहिष्कार गरेका छन् ।
प्रतिनिधिसभाको आजको वैठक सुरु हुना साथ बोलेका सांसद साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग माग गरेका थिए ।
उनले कि प्रधानमन्त्री बालेन शाहलाई सदनमा ल्याउनु पर्ने कि आफूलाई संसदबाट निस्केर जाँ भन्न सभामुख अर्याललाई आग्रह गरेका थिए । सांसद साम्पाङको आग्रहपछि सभामुख अर्यालले सदनमा सभामुखलाई निर्देशन दिने अभ्यास यसअघि नभएको जवाफ दिएपछि सांसद साम्पाङ वैठक नै बहिष्कार गर्दै सभाकक्षबाट बाहिरिएका हुन् । सांसद साम्पाङ बाहिरिएपछि अहिले सांसदहरुले आकस्मिक समय अन्तर्गत आफ्ना भनाइहरु राखिरहेका छन् ।
सांसद साम्पाङले प्रधानमन्त्री नआउन्जेल आफू बैठक छोडेर हिँडिरहने बताएका छन् । संसद् नियमावलीको नियम १५ को २ का आधारमा दुई–चार कुरा सोध्नलाई प्रधानमन्त्री खोजेको साम्पाङले बताएका छन् । आज आफूले कि प्रधानमन्त्री बोलाउन कि आफूलाई बाहिर निकाल्न सभामुखसँग माग गरेको तर सुनुवाइ नभएको गुनासो गरे ।
उनले भने, ‘सभामुखले रुलिङ पनि गर्नु हुन्न, निस्केर जा भन्नुहुन्छ कि भनेको त्यो पनि भन्नुहुन्न । म आफैं निस्किएँ ।’ साम्पाङले थपे, ‘प्रधानमन्त्री आएर बोल्नुस् त भनेको हो । यो मुख भात खानका लागि मात्रै हो र ? बोल्नु पनि पर्छ । यति क्षमता योग्यता हुनुपर्छ क्या प्रधानमन्त्री बन्नलाई ।’






