गत भदौमा नेपालमा भएको जेनजी प्रदर्शनलाई शनिबारको कक्रोच जनता पार्टीको जेनजी प्रदर्शनसँग तुलना गरेर उनले प्रश्न गरेका हुन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘एउटा सलाइको काँटी बालेनन्, एउटा ढुँगा समेत फालेनन्, हैदरावाद हाउस, राष्ट्रपति भवन, छानिछानी व्यक्तिका पसल, होटल, घर, गाडी केही पनि जलाएनन्। कुनै नेताले जेल फोरेर भागेनन्। माथि चोर्न पठाएर तलबाट आगो लगाएर मारेनन्, पुलिसलाई भाटा र लात्तीले हानेर कुटिकुटी मारेनन्।’
उनले अगाडि लेखेका छन्, ‘यस्ताले गरेको आन्दोलन कहिले सफल होला? यताको जेनजी आन्दोलन जस्तो भारतको कक्रोचवालाहरुको आन्दोलनलाई पनि हाइज्याक गरेर देशैभरि आगो लगाउने यताका जस्ता पानी बाँडुवा, टिओबी, लुसिफरहरू छैनन् कि क्या हो रु नभए नेपालबाट यिनीहरूलाई काजमा झिकाए पनि हुन्थ्यो नि ।’
कक्रोच जनता पार्टी (सीजेपी) ले शनिबार नयाँ दिल्लीको जन्तर मन्तरमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आफ्नो पहिलो ठुलो शान्तिपूर्ण विरोध प्रदर्शन गरेको थियो। एउटा व्यङ्ग्यात्मक ‘जेनजी’ इन्टरनेट मिमको रूपमा सुरु भएको यो अभियान भारतको राष्ट्रिय परीक्षा प्रणालीमा देखिएका अनियमितताहरू विरुद्ध सडक आन्दोलनमा परिणत भएको छ।
राष्ट्रिय परीक्षा प्रणालीमा देखिएको संरचनात्मक कमजोरीको जिम्मेवारी लिँदै शिक्षा मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग आन्दोलनकारीको छ। परीक्षाको प्रश्न पत्र बाहिरिँदा पटक-पटक परीक्षा रद्द हुने र नतिजामा गडबडी हुने कारणले विद्यार्थीहरूमा तनाव र आत्महत्याको दर बढेको उनीहरूको दाबी छ। भारतका प्रधानन्यायाधीश सूर्यकान्तले अदालतको सुनुवाइका क्रममा अनलाइनमा सरकारको आलोचना गर्ने युवाहरूलाई ‘कक्रोच’ र ‘परजीवी’ सँग तुलना गरेपछि, युवाहरूले सोही शब्दलाई आफ्नो पहिचान र दृढताको प्रतीक बनाएका हुन्।
कडा गर्मीका बाबजुद हजारौँ विद्यार्थी, परीक्षार्थी र अभिभावकहरू आन्दोलनमा सहभागी भए। धेरैले साङ्लो (कक्रोच) को मास्क लगाएका थिए। कतिले हातमा भारतीय संविधानको तस्बिर बोकेका थिए। सीजेपीका संस्थापक अभिजीत दिपके आन्दोलनको नेतृत्व गर्न सोही दिन बिहान अमेरिकाबाट दिल्ली आइपुगेका थिए।
लद्दाखका प्रख्यात वातावरणविद् तथा शिक्षाविद् सोनम वाङ्चुक पनि आन्दोलनमा सहभागी भएका थिए। उनले न्यायविनाको शिक्षा प्रणालीको कुनै अर्थ नहुने बताए। आन्दोलनकारीले सुरक्षाकर्मीलाई फूल दिएर शान्तिको सन्देश दिए। पहिलो दिन कुनै हुल दंगा हुन पाएन।
सीजेपीले केन्द्रीय सरकारलाई शिक्षामन्त्री हटाउन सात दिनको समय (अल्टिमेटम) दिएको छ। उनीहरूले एक हप्ताभित्र माग पूरा नभएमा यो आन्दोलनलाई दिल्लीबाट बढाएर देशव्यापी रूपमा अगाडि बढाउने चेतावनी समेत दिएका छन्।






