आत्मदाहका घटनामा गहिरो अध्ययन गर्न आवश्यक छ : जेनजी अभियान्ता ढुङ्गाना

जेनजी अभियन्ता मिराज ढुङ्गानाले राजधानीमा पछिल्ला दिनहरूमा सार्वजनिक रूपमा आत्मदाहका घटनाहरू बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको बताएका छन्।

उनले यस्ता घटनालाई केवल व्यक्तिगत मानसिक अवस्थासँग मात्र जोडेर हेर्न नहुने भन्दै यसको राजनीतिक, आर्थिक, सामाजिक र मनोवैज्ञानिक पाटोको गहिरो अध्ययन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले मुगुका युवा गणेश नेपालीले राजधानीमा दिनदहाडै आत्मदाह गरेलगत्तै सर्लाहीका विवेक मण्डल र बुद्धनगरका अश्विन राउतसँग सम्बन्धित आत्मदाहका समाचार सार्वजनिक हुनु समाजका लागि गम्भीर संकेत भएको बताएका छन्।

ढुङ्गानाले यस्ता घटनालाई व्यक्तिको निजी भोगाइ, मानसिक अवस्था वा मनोवैज्ञानिक समस्यामा मात्र सीमित गरेर विश्लेषण गर्नु गम्भीर भूल हुन भन्दै युवाहरूलाई आत्मदाहजस्तो कठोर र पीडादायी निर्णय लिन बाध्य पार्ने बहुआयामिक कारणहरूको समयमै खोजी र विश्लेषण हुन आवश्यक छ।

उनले राजनीतिक अस्थिरता, आर्थिक अभाव, सामाजिक निराशा तथा मनोवैज्ञानिक दबाबजस्ता पक्षहरूलाई समग्र रूपमा अध्ययन गरी समाधानका उपाय खोज्न ढिलाइ गर्न नहुने धारणा राखेका छन्।

सेयर गर्नुहोस्