आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई सही दिशामा मोड्ने कार्यको सफल सुरुवात गरेको बताएका छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँग आयोजित बैठकलाई सोमबार सम्बोधन गर्दै उनले आगामी वर्षहरूमा अर्थतन्त्रलाई तीव्रता दिने र यसको प्रतिफल जनतासम्म पुर्‍याउने बताएका हुन्।

अर्थतन्त्रलाई एक विशाल जहाजको संज्ञा दिँदै उनले चालु वर्षमा यसलाई नयाँ दिशातर्फ मोड्ने चुनौतीपूर्ण कार्य सम्पन्न भएको उल्लेख गरे। आगामी दोस्रो र तेस्रो वर्षमा अर्थतन्त्रलाई गति प्रदान गरिने तथा चौथो र पाँचौँ वर्षमा गरिएका सुधारहरूबाट प्राप्त लाभलाई नेपाली जनतामाझ वितरण गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिए।

सरकारको पाँच वर्षको स्पष्ट भिजन र पाँचवटै बजेटको मूल उद्देश्य यही रहेको उनको भनाइ छ। सुशासन सरकारको प्राथमिक कार्यसूची रहेको भन्दै उनले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई कडा रूपमा लागू गरिने प्रतिबद्धता व्यक्त गरे।

बजेट निर्माण राम्रो हुने तर कार्यान्वयन पक्ष फितलो हुने विगतको प्रवृत्तिलाई यस पटक चिर्नैपर्नेमा अर्थमन्त्रीले जोड दिएका छन्। पुँजीगत खर्च र राजस्वको लक्ष्यलाई विश्वसनीय बनाउन सरकार लागेको जानकारी दिँदै उनले आन्तरिक राजस्व विभाग र भन्सार प्रशासनमा व्यापक सुधार, नेतृत्व परिवर्तन र पूर्ण डिजिटलाइजेसनमार्फत राजस्वको लक्ष्य हासिल गरिने दाबी गरे।

सरकारी खर्चले मात्र अर्थतन्त्र नचल्ने बताउँदै उनले ५० खर्बभन्दा बढीको निजी क्षेत्रको हिस्सालाई चलायमान बनाउन कानुनी र संरचनात्मक सुधार आवश्यक रहेको औँल्याए। कानुनी सुधारका लागि ठुलो बजेट नचाहिने तर यसले निजी पुँजीको आकर्षण र संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले भने, ‘हामीले यस वर्ष अर्थतन्त्रको दिशालाई मोड्ने काम गरेका छौँ। अब दोस्रो र तेस्रो वर्षमा यसलाई गति दिने र चौथो-पाँचौँ वर्षमा सुधारको प्रतिफल नेपाली जनतालाई बाँड्ने हाम्रो पाँच वर्षीय लक्ष्य हो।’

सुशासनका विषयमा कुरा गर्दै उनले थपे, ‘सरकार सुशासन, इमानदारी र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा दृढ छ। प्रधानमन्त्री, मन्त्री तथा सबै नेतृत्व नेपाली जनता र आफ्नो नेतृत्वप्रति जबाफदेही भएर काम गर्नुपर्छ।’ पुराना विकृति हटाउँदै कर्मचारीतन्त्रलाई आवश्यक प्रोत्साहन दिइने आश्वासन पनि उनले दिएका छन्।

कार्यान्वयनको पाटोलाई जोड दिँदै अर्थमन्त्रीले भने, ‘नीति र बजेट राम्रो भए पनि कार्यान्वयन कमजोर भएको गुनासो दोहोरिँदै आएको छ। त्यसैले यस पटक विश्वसनीय कार्यान्वयनमा विशेष जोड दिनुपर्छ। राजस्व प्रशासन, विशेष गरी आन्तरिक राजस्व र भन्सारमा डिजिटल प्रविधिसहित व्यापक सुधार गरिनेछ।’

निजी क्षेत्रबारे बोल्दै उनले थपे, ‘कानुनी तथा संरचनागत सुधारमार्फत निजी क्षेत्रको लगानी आकर्षित गर्ने, संरक्षण गर्ने र समग्र अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिइएको छ। यसका लागि सबै मन्त्रालयले आर्थिक सुधारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेछ। यस पटक सरकारले जनअपेक्षाअनुसार परिणाममुखी र फरक ढङ्गले काम गर्नुपर्छ।’

कर्मचारीहरूसँगको सहकार्यबारे उनले भने, ‘सचिवलगायत कर्मचारीहरूको अनुभव र सहयोगबाट छिटो, प्रभावकारी र कानुनी प्रक्रियाअनुसार काम सम्पन्न गर्दै सुशासनको अनुभूति दिलाउनु नै हाम्रो प्रतिबद्धता हो।’ अनुभवी कर्मचारीतन्त्रको साथविना सुधार सम्भव नभएको स्वीकार गर्दै उनले कर्मचारीहरूलाई प्रोत्साहित गर्ने नीति लिइने स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरू राजनीतिक दल, जनता र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताए। सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका सवालमा राज्य सञ्चालनमा जबाफदेहिता र पारदर्शिता अनिवार्य रहेको उनको भनाइ छ।

प्रशासनिक सुधारका विषयमा अर्थमन्त्रीले भने, ‘एउटा स्पष्ट सोच त आएको छ, एउटा सुशासन। यो हाम्रो एकदमै जिरो टोलरेन्स, इन्टेग्रिटी र जिरो टोलरेन्स टु करप्सनका मान्यतामा हामी कडा छौँ।’

नेतृत्वको जवाफदेहिताबारे बोल्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी सबै मन्त्रीहरू यसमा वी आर हेल्ड एकाउन्टेबल बाई नेपाली जनता, बाई आवर पार्टी एण्ड बाई आवर रेस्पेक्टिभ लिडरसिप एज वेल भन्ने कुरामा हामी एकदमै कडाका साथ अगाडि जानुपर्ने छ।’

अन्त्यमा कर्मचारीतन्त्रबारे बोल्दै उनले भने, ‘पुराना विकृतिहरू, विसङ्गतिहरूलाई छोड्दै जाने हो र सामर्थ्य अनुसार हामी फेरि कर्मचारीतन्त्रलाई इन्सेन्टिभाइज पनि गर्छौँ भनेका छौँ।’ बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन र शासकीय सुधारका लक्ष्यहरू हासिल गर्न उनले सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन्।

सेयर गर्नुहोस्