तामाङ समुदायले विभिन्न कार्यक्रम गरि धुमधाम रुपमा सोनाम ल्होछार मनाउंदै

चितवन । भरतपुर महानगरपालिकाभित्रका तामाङ समुदायले विगत डेढ दशकदेखि निरन्तर रुपमा सोनाम ल्होछार मनाउँदै आएका छन् । विगतमा झैँ यसपटक पनि तामाङ जातिहरुको महान साँस्कृतिक पर्व नयाँ वर्ष मञ्जुश्री सम्वत २८६० सोनाम ल्होछार डुक ल्हो (मु मुप्रि ल्हो) माघ २७ गते मनाउने तयारी तिब्र पारिएको भरतपुर नगर तामाङ समाज चितवनका अध्यक्ष सूर्यप्रकाश लामाले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

भरतपुर ११ भोजाड स्थित छेच्यु थर्पलिङ गुम्बामा तामाङहरुले ल्होछारमा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरी मनाउँदै छन् । अध्यक्ष तामाङका अनुसार तामाङ समुदायले सोनाम ल्होछारको अवसरमा कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देश स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरन्जन गर्दै आपसमा खुशी आदान प्रदान गरी मनाउने छन् । यसपटक ल्होछार गाउँ केन्द्रित गरेको बताउँदै अहिलेको अभियान नै सबैले घरघरमा पनि ल्होछार मनाउने उनले बताए ।

ल्होछारको पूर्वसन्ध्यामा माघ २६ गते बेलुका लामा गुरुहरुद्वारा लोखर पूजा हुने र उक्त पूजामा सम्पूर्ण जनसमुदायहरुलाई सहभागिताका लागि उनले आग्रह समेत गरेका छन् । माघ २७ गते बिहान विभिन्न मनोरन्जनात्मक खेलकुद कार्यक्रमको आयोजना गरिएको र दिउँसो साँस्कृतिक कार्यक्रम हुने उनले बताए । उनले साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार निमा लामा पाख्रिन, सेलो गायक रोशना लुम्बा र अन्य स्थानीय कलाकारको समेत प्रस्तुति रहने जानकारी गराए ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बागमती प्रदेश सभा सांसद ईश्वर सापकोटा रहने आयोजकले जनाएको छ । भरतपुर नगर तामाङ समाजका पूर्व अध्यक्ष गंगालाल लामाले तामाङ जाति धर्म संस्कृति क्षेत्रमा अग्रणी समुदाय भएको बताए । विगतदेखि नै गीत संगीतको क्षेत्रमा तामाङहरु अग्र भागमा रहेर मनोरंजन दिँदै आएको उनको भनाइ छ । उनले ल्होछारको कार्यक्रममा भरतपुर लगायत सम्पूर्ण चितवनका जनसमुदायलाई सहभागिताका लागि आग्रह समेत गरेका छन् ।

सोनाम ल्होछार कार्यक्रमको सहआयोजकहरुमा दूध पोखरी बौद्ध तामाङ समाज, छेच्यु थर्पलिङ बौद्ध गुम्बा, मञ्जुश्री म्हाणिपा आमा समूह, पाख्रिन समाज गुठी, जिम्बा समाज गुठी, योञ्जन समाज गुठी, गोले समाज गुठी, दोङ समाज गुठी, ला–लगंवा समाज गुठी रहेका छन् । भरतपुर महानगरभित्रका २३५ घरधुरी तामाङ घरधुरीले २०६६ सालदेखि निरन्तर सोनाम ल्होछार मनाउँदै आएका छन् । संयुक्त राष्ट्र संघले चन्द्र पात्रोलाई आधार मानेर नयाँ वर्षलाई अन्तर्राष्ट्रिय रुपमा स्वीकार गरेझैँ सोनाम ल्होछारलाई पनि अन्तर्राष्ट्रिय नयाँ वर्षको रुपमा विश्वले मान्यता दिएको छ ।

सेयर गर्नुहोस्