उद्योग वाणिज्य संघ चितवनको कार्ययोजना बनाउन गोष्ठी

चितवन। उद्योग वाणिज्य संघ चितवनले दुई वर्षे कार्ययोजना बनाउन गोष्ठी गरेको छ । उद्योग वाणिज्य संघ–चितवनमा सुमनकुमार श्रेष्ठको नेतृत्व आएसँगै भावी कार्ययोजना बनाउन सो गोष्ठी गरेको हो । गोष्ठीले श्रेष्ठको कार्यकालमा गर्ने कार्यक्रमहरु, सदस्यमुखी कार्यक्रमलगायत चितवन जिल्लाका आर्थिक तथा सामाजिक विकास सम्बन्धी योजना एवम् मिनी एक्जिवेशन सेन्टर निर्माण तथा हाइजिन फुड कोर्ट निर्माण गर्ने योजना तय गरेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष श्रेष्ठले कार्ययोजना निर्माण गरेर काम गर्दा सफलता प्राप्त गर्न सकिने बताउँदै योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको जानकारी गराए । कार्यक्रममा संघका पूर्वअध्यक्ष प्रचण्डलाल प्रधानले संघको स्थापनाकालिन अवस्था र बिगतमा संघले गरेका क्रियाकलापहरुका बारेमा जानकारी गराएका छन् । यसैगरी पूर्वअध्यक्ष रमेशकुमार पियाले संघ स्थापना हुनुको उद्देश्य र उद्योगी व्यवसायीको वर्तमान अवस्थाको वारेमा आफ्नो धारणा राखे ।

पूर्वअध्यक्ष मित्रराज दवाडीले आगामी दिनमा संघले गर्नुपर्ने कामको बारेमा जानकारी गराए भने अर्का पूर्वअध्यक्ष डा. तिलचन्द्र भट्टराईले सबै राजनीतिक दलहरुले देशको अबको एजेण्डा आर्थिक विकासको बनाउनुपर्ने बताउँदै संघले आफ्नो कार्ययोजना पनि आर्थिक विकाससँग सम्बन्धित कुरा पार्न सुझाव दिएका थिए । पूर्वअध्यक्ष राजन गौतमले आगामी दिनमा संघलाई के गर्दा राम्रो हुन्छ र वर्तमान कार्यसमितिलाई संघबाट निस्कदै गर्दाे गर्व महसुस गर्ने कार्य गर्न सुझाव दिए ।

दुई दिनसम्म सञ्चालित गोष्ठीमा पूर्वाञ्चल विश्वविद्यालयका सहप्राध्यापक एवम् डिन डा. सन्देशदास श्रेष्ठ प्रमुख प्रशिक्षक रहेका थिए भने संघका कार्यकारी निर्देशक निलबहादुर केसी र कार्यक्रम अधिकृत गणेश सुवेदीले सहजीकरण गरेका थिए । कार्यक्रममा संघका पूर्वअध्यक्ष उत्तमलाल चुके, सहनलाल प्रधान, राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठलगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको छ ।

सेयर गर्नुहोस्