होलीमा चितवन प्रहरी ‘हाइ अलर्ट’ मा, राजमार्गदेखि भित्री सडकसम्म प्रहरीको विशेष निगरानी

चितवन:  चितवन प्रहरीले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । भोलि आइतबार पहाड र सोमबार तराईको होली पर्व परेकोले राजमार्गदेखि भित्री सडकसम्म निगरानी बढाएर प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको हो ।

चितवन प्रहरी प्रमुख भावेश रिमालले होली पर्व आम नेपालीहरूको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रूपमा मनाउन आग्रह गरे । उनले प्रहरीले कुनै उच्छृङ्गल गतिबिधि हुन सक्ने भएकोले चितवनका राजमार्गदेखि भित्री सडकसम्म भोलि बिहानदेखि नै चेकिङ हुने बताए । प्रहरी प्रमुख रिमालले भने, ‘ होलीलाई मध्यनजर राखेर चितवन प्रहरी हाइअलर्टमा छ । ट्रफिकसँगको समन्वयमा राजमार्गदेखि भित्री सडकसम्म प्रहरीको चेकिङ र निगरानी हुनेछ । अन्य समयभन्दा बढी गस्ती पनि बढाइएको छ ।’ उनले होलीमा मापेस गरेर बाइक कुदाउने, मनपरी लोला हान्नेहरुमाथि विशेष निगरानी राखिने बताए । चितवन प्रहरीले एक हप्ता अगाडिदेखि नै माइकिङ र सञ्चार माध्यमबाट जिङ्गल बजाएर सचेतना दिने काम गरिरहेको जानकारी दिए । विगतका घटनाहरूलाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मजबुत बनाएको जानकारी दिए ।

चितवनमा बिगतमा भएका जोखिमहरूको मूल्याङ्कन गरेर कुन ठाउँमा कसरी के कस्ता घटनाहरू भएका थिए, त्यसको आधारमा चितवन प्रहरीले सुरक्षा रणनीति बनाएको छ । होली खेल्न नचाहनु हुने व्यक्तिलाई जबरजस्ती रङ दल्दिने, लोला हान्ने लगायतका गतिविधि गरे नछाडिने चितवन प्रहरीले जनाएको छ । प्रहरीले सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गरेको छ ।

सेयर गर्नुहोस्