सिस्नो पानी न्यानो लाग्न थालेको छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजको बेथिति र विकृति अन्त्य गर्न सिस्नो पानी नेपाल सधैँ सक्रिय हुँदैआएको बताएका छन्।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उनले राजनीतिकर्मीलाई सचेत बनाउन सिस्नोपानीजस्ता संघसंस्थाको महत्वपूर्ण भूमिका रहन्छ भने। ‘सिस्नोपानीले पोल्छ, तर नेतालाई अचेल सिस्नोपानी न्यानो लाग्न थालेको छ’, उनले भने, ‘यसले हाम्रा क्रियाकलाप पारदर्शी र सचेत बनाउन मद्दत गर्छ।’

सिस्नो नेपालले राष्ट्रिय भाव जागृत गर्ने ध्येयले ‘राष्ट्र’ शीर्षकमा सो कार्यक्रम आयोजना गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सो कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा सभामुख, मन्त्री, सांसदलगायत विभिन्न पार्टीका नेता उपस्थिति थिए। कार्यक्रममा राष्ट्रपति पौडेलले गायिका मेनुका पौडेललाई रु एक लाख र ताम्रपत्रसहित सम्मान प्रदान गरेका थिए।

कार्यक्रममा शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षामा सकारात्मक सोच ल्याउन जरुरी रहेको बताइन्। कार्यक्रममा डा भगवान कोइरालाले देशको मुटु कुशल प्रशासन तन्त्र भएको र त्यसलाई जोगाउने कर्तव्य राजनीतिको हुने सुझाव दिएका थिए। ‘प्रशासनले प्रभावशाली काम गर्ने वातावरण राजनीतिले दिने हो’, उनले भने।

कार्यक्रममा भजन शिरोमणि भक्तराज आचार्यको सम्झनामा संगीत प्रस्तुत गरिएको थियो। उनकै गीत ‘जहा छन् बुद्धका आँखा…’ पाका कलाकारले प्रस्तुत गरेका थिए। त्यस्तै, हास्यँ कलाकार मनोज गजुरेल र चन्द्र दवाडीले ‘सहिद गेट’ नामक नाट्य प्रस्तुत गरेका थिए। कवि अर्जुन पराजुलीको ‘मेरो देशमा’, र लक्ष्मण गाम्नागेको ‘लेख्न बाँकी एउटा कविता’ ले समसामयिक राजनीतिक एवं सामाजिक विसंगति माथि व्यंग्य पोखेको थियो। उक्त कार्यक्रमको परिकल्पना टंक आचार्यले गरेका थिए।

सेयर गर्नुहोस्