देवघाट-हलेसी सगरमाथा मोटर र्याली सम्पन्न

चितवन:   बैशाख ५ गतेबाट सुरु भएको तीन दिने देवघाट–हलेसी सगरमाथा मोटर र्याली ७ गते हेटौंडामा आएर अटो जिमखाना गरी समापन गरिएको छ ।

खेल सँगै पर्यटन प्रवद्र्धनलाई पनि जोडेर नेपाल अटोमोवाइल एसोसिएसन (नासा) बाग्मती प्रदेश र चितवन अटोमोवाइल डिलर्स एसोसियसन (काडा)द्वारा संयुक्त रुपमा मोटर र्यालीको आयोजना गरिएको थियो । र्यालीको उद्देश्य मोटर टुरिजम तथा मोटर स्पोर्टस प्रर्वद्धन गर्नुका साथै भरतपुर भ्रमण वर्ष २०२४ को प्रवद्र्धन गर्नु थियो ।

५ गते सुरु भएको र्याली राति खोटाङको हलेशी महादेव पुगेर बास बसेको थियो । ६ गते बिहान हलेशी महादेवको दर्शन गरेर हिडेको र्याली दिउँसो ४ बजे सगरमाथा जाने बाटो सोलुखुम्बुको फाप्लु पुग्यो ।

अन्तिम गन्तव्य स्थल फाप्लुमा पुगेपछि र्याली पुनः चितवन फर्कन सुरु गर्याे । फर्कने क्रममा ६ गते साँझ ओखलढुंगाको धापमा बास बस्यो । ७ गते बिहान ओखलढुंगाबाट हेटांैडा आएर र्यालीको समापन गौरीटार रंगशालामा गरिएको हो ।

र्यालीका क्रममा भरतपुर देवघाटदेखि हेटौंडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी, हलेसीसम्मको करिब ३ सय २७ किमि ट्रयाकमा टिडिएस र्याली प्रतियोगिता गरिएको हो ।

नासा नेपाल बाग्मती प्रदेश सघंका अध्यक्ष तथा चितवन अटोमोवाइल्स डिलर्स एसोशियशन (काडा) चितवनका अध्यक्ष राजन पियाका अनुसार मोटर रेसिंगको विधा  टिडिएस र्याली अन्तर्गत गन्तव्यसम्म पुग्नको लागि विभिन्न चेक प्वान्इटहरु निर्धारण गरिएको थियो । जिओ मेट कम्पनीमार्फत प्रत्यके कारहरुमा जिपिएस सिस्टम जडान गरी कारलाई जिपिएस मार्फत निगरानी गरी प्रतियोगिताको नतिजा निकालिएको थियो । र्यालीमा २० वटा कार र ८५ जना सहभागी थिए भने त्यसमध्ये १६ वटा कारलाई र्याली प्रतियोगितामा सहभागि गराइएको थियो । र्यालीमा ड्राइभर, मार्शल, प्राविधिक लगायत अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सहभागिहरु मध्ये जो गन्तव्यमा आयोजकले दिएको अधिकतम गति समयमा पुग्छ प्रतियोगिता उसैले जित्ने गर्छ । प्रतियोगितामा पहिलो रमेश श्रेष्ठ विजेता र सुमन तामाङ दोश्रो हुन सफल भए । उनीहरुलाई हेटौंमा भएको समापन कार्यक्रममा शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा अटो जिमखाना समेत गरिएको थियो ९ जनाको सहभागिता रहेको प्रतियोगितामा सुमन तामाङ विजयी भए भने राजन पिया दोश्रो हुन सफल भए ।

खेल सँगै पर्यटन प्रवद्र्धनलाई पनि जोडेर आयोजना गरिएको र्यालीले भरतपुर भ्रमण वर्ष २०२४ को पनि प्रचार गर्याे । विभिन्न स्थानहरुमा घुमौं भरतपुर लखिएको स्टिकर टाँसेको छ ।

र्यालीको उद्वघाटन भरतपुर महानगरका नगर उपप्रमुख चित्रसेन अधिकारीले गरेका थिए भने समापन बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको उपस्थिथितमा गरिएको थियो ।

सेयर गर्नुहोस्