किन दयाहाङ ‘गाउँ आएको बाटो’लाई करिअरको उत्कृष्ट फिल्म मान्छन् ?

अहिलेका सर्वाधिक सफल अभिनेता दयाहाङ राईले करिअरमा ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । र, अन्तर्राष्ट्रिय फेस्टिभलमा उनकै फिल्म बढी पुगेका छन् । ‘सेतो सूर्य’, ‘कबड्डी’, ‘लुट’, ‘जारी’ जस्ता यादगार फिल्ममा काम गरेका उनी यतिबेला कुनै फिल्मलाई लिएर उत्साहित छन् भने त्यो ‘गाउँ आएको बाटो’ हो । यसलाई उनी आफ्नो करिअरको उत्कृष्ट फिल्म मान्दछन् ।

यो फिल्ममा काम गर्दा लोभ पनि लागेको र आँट पनि गर्न नसकेको उनको अनुभव छ । ‘केही फिल्म हेर्दा र गर्दा लोभ पनि लाग्छ तर आँट पनि आउँदैन । यो फिल्म चाहिँ मलाई अत्याधिक लोभ लागेको थियो,’ उनी भन्छन्, ‘आँट आउन नसकेको चाहिँ मैले गर्न सकिनँ भने राम्रो चीज विग्रिन्छ जस्तो लाग्थ्यो । अहिले ‘गाउँ आएको बाटो’ हेर्दा मैले काम गरेका फिल्महरुमा उत्कृष्ट भन्न सक्छु ।’

दयाहाङले यसअघि फिल्ममा विभिन्न चरित्र निभाएका छन् । कुनैमा गुरुङ बने त कुनैमा तामाङ । ‘गाउँ आएको बाटो’मा भने उनी पहिलोपटक आफ्नै जातीय चरित्रमा छन् । अर्थात् राईको चरित्र छ । फिल्ममा काम गर्दा राईलाई अझै राम्रोसँग चिन्ने मौका पाएको उनको अनुभव छ । ‘प्रि-प्रोडक्सन’मा बस्दा आफूले कसरी काम गरिरहेको रहेछु भनेर पनि आफैंलाई हेर्न पाएको उनी सम्झन्छन् ।

फिल्मलाई ‘नुमाफङ’ निर्देशक नवीन सुब्बाले बनाएका हुन् । यसअघि दयाहाङले नवीनको निर्देशनमा टेलिभिजन सिरिज ‘दलन’मा काम गरेका थिए । करिब २० वर्षपछि उनीहरुको सहकार्य भएको हो । यसैले पनि उनी यो फिल्म आफ्नो लागि महत्त्वपूर्ण मान्छन् । यही जेठ २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्मले गाउँमा सडक आएपछिको परिवर्तन र त्यसले पार्ने असरको कथा भनेको छ ।

सेयर गर्नुहोस्