बजेटमाथिको छलफल आजदेखि : बुधवार अर्थमन्त्रीले जवाफ दिने

सरकारले संघीय संसदको संयुक्त सभामा गएको जेठ १५ गते प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि आजदेखि छलफल शुरु हुँदैछ । सभामुख देवराज घिमिरेले छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाउनुभएको छ । त्यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि तय भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले गएको मंगलवार संघीय संसदको संयुक्त बैठकमा बजेट पेस गर्नुभएको थियो । लगत्तै प्रतिनिधिसभामा अर्थमन्त्री पुनले विभिन्न राजस्व, कर शुल्क र महसुलको दस्तुर निर्धारणसम्बन्धी व्यवस्था रहेको आर्थिक विधेयक–२०८१ पनि पेस गर्नुभएको थियो ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार बजेटसँगै दुबै सभामा सरकारबाट विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दर्ता भई छलफल शुरु हुनेछ । आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभा र राष्ट्रिय सभामा तीन दिन आज, भोलि र पर्सि छलफल हुनेछ ।

प्रतिनिधिसभामा जेठ २३ अर्थात् आउँदो बुधवार अर्थमन्त्रीले छलफलबाट उठेका विषयमा जवाफ दिनुहुनेछ । त्यसअघि पर्सि जेठ २२ मा अर्थमन्त्रीले राष्ट्रिय सभामा जवाफ दिनुहुनेछ । सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । साउन १ मा नयाँ आर्थिक वर्षसँगै नयाँ बजेट कार्यान्वयन हुनेछ ।

सेयर गर्नुहोस्