‘गाउँ आएको बाटो’को ‘राई माइला’ गीत : सशक्त अडियो, मनछुने दृश्य

यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको निर्देशक नवीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘राई माइला’ बोलको सार्वजनिक गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राईको माइला पात्रले जीविकोपार्जनका लागि गरेको संघर्ष र उसको पारिवारिक जीवनलाई पेश गरिएको छ । यो गीतका शब्दले फिल्मको कथा बोल्छ ।

प्रसिद्ध कवि श्रवण मुकारुङको शब्द रचना रहेको गीतमा कालिप्रसाद बाँस्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर समावेश छ । गहिरो भाव बोकेको गीतको अडियो सशक्त छ । भिडियोमा समावेश दृश्य मनछुने छन् । दुर्गम गाउँमा सडक र गाडी आएपछिको परिवर्तन र त्यसले पार्ने असरको कथामा फिल्म बनेको छ । यो फिल्मलाई पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरमा खिचिएको हो ।

फिल्ममा दयाहाङसहित पशुपति राई, प्रसान राई (बाल कलाकार), खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदिको पनि अभिनय छ । महेश राईको कथा रहेको फिल्मको पटकथा लेखनमा उनलाई निर्देशक सुब्बाले सघाएका छन् । यो फिल्म २० भन्दा बढी अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा छनोट भइसकेको छ । यसले गर्दा पनि फिल्मप्रति घरेलु दर्शकहरुमा उच्च अपेक्षा देखिएको छ ।

सेयर गर्नुहोस्