भारतको राजधानी नयाँ दिल्लीमा अघिल्लो हप्ता ५२ दशमलव ९ डिग्री सेल्सियस तापक्रम नपुगेको पुष्टि भएको छ ।
अघिल्लो हप्ता नयाँ दिल्लीकाे मुङ्गेशपुरको मौसम स्टेशनले तापक्रम ५२ दशमलव ९ डिग्री सेल्सियस पुगेको देखाएपछि भारत मात्र नभई संसारभरको ध्यान तानिएको थियो । त्यसपछि भारतीय मौसम विज्ञान विभागले गरेको अनुसन्धानले सेन्सरको त्रुटिका कारण तापक्रम ३ डिग्री सेल्सियसले बढी देखाएको पाइएको जनाएको रोयटर्सले जनाएको छ ।
विज्ञान मन्त्री किरेन रिजिजुले मुङ्गेशपुरको मौसम स्टेशनको सेन्सरको त्रुटिका कारण सही तथ्याङ्क नआएको र ३ डिग्री सेल्सियस धेरै देखिएको बताउनुभएको छ ।
गएकाे बुधवार मुङ्गेशपुरको तापक्रम ४९ डिग्री सेल्यिसभन्दा धेरै रहेको भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले जनाएको छ । तर दिल्लीको तापक्रको रेकर्ड भने गएको बुधवार नै तोडिएको थियो । त्यो दिन दिल्लीको एउटा स्टेशनले ४९ र अर्कोले ४९ दशमलव १ डिग्री तापक्रम मापन गरेका छन् । याे तथ्याङ्क सही भएको विभागले जनाएको छ ।
नयाँ दिल्लीमा यसअघि रेकर्ड गरिएको सबैभन्दा उच्च तापक्रम सन् १९९८ को मे ९ तारिखमा ४८ दशमलव ४ डिग्री सेल्सियस थियो ।
केही दिनदेखि भारतका केही भागमा गर्मीले रेकर्ड तोडिरहेको छ । गर्मीकै कारण अस्ति उत्तर प्रदेश, बिहार र पूर्व ओडिशामा निर्वाचन अधिकारीहरूसहित कम्तीमा ३३ जनाको ज्यान गएको थियो ।