नेकपा (एकीकृत समाजवादी) पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । हिजो बसेको पार्टी संसदीय दलको बैठकबाट मधेश सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै पार्टीको तर्फबाट मधेश प्रदेश सरकारमा सहभागी एकीकृत समाजवादीका गोविन्द न्यौपाने र बेची लुङ्गेलीले मुख्यमन्त्रीको सचिवालयमा राजीनामा बुझाउनुभएको छ ।
एकीकृत समाजवादीले सरकार छाडेसँगै मधेसमा जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) नेतृत्वको सरकार अल्पमतमा परेको छ । यसअघि वैशाख ३० मा सरोजकुमार यादव नेतृत्वको सरकारबाट एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका थिए । मुख्यमन्त्री यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
मधेशमा एमाले, जनमत पार्टी र माओवादी केन्द्रले यसअघि नै जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन् । एक सय ७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका सभामुखसहित २५, जनमत पार्टीका १३, माओवादी केन्द्रका ८ र एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्य छन् ।
उनीहरुको सङ्ख्या ५३ तथा नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक/एक गरी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी छ । कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिनुभयो ।