प्रचण्डलाई कालो झण्डा देखाउँदा सहकारीपीडितमाथि दमन भएको भन्दै संसद्‌मा विरोध

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाउने कास्कीका सहकारीपीडितमाथि बुधवार पोखरामा भएको धरपकडबारे संसदमा विरोध भएको छ । बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले विरोध जनाएका हुन् ।

केसीले सहकारी ठगलाई उन्मुक्ति र पीडितलाई ज्यादती गरिएको आरोप लगाए । ‘यसअघि प्रधानमन्त्री पोखरा जाँदा पीडितले विनम्रतापूर्वक बिन्तीपत्र हालेका थिए । हाम्रो पसिना खाएँ भनेर विरोध गर्दा पीडितमाथि दमन भएको छ,’ केसीले भने, ‘चोरलाई चौपारी, पीडितलाई डण्डा भनेजस्तो भयो । सहकारी पीडितमाथि दण्डा बर्साइयो ।’

हिजो आन्दोलनमा साथ दिएका, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि लडेका नागरिकमाथि गरिएको दमन निन्दनीय भएको उनले बताए । ‘अहिले गठन गरिएको छानबिन समिति टालटुल गर्न हो, सहकारी पीडितलाई जोगाउन हो । ठगहरुविरुद्ध एउटै ठाउमा उभिनु पर्छ,’ केसीले भने ।

सांसद सुवालले नाम राख्दैमा कम्युनिस्ट नहुने भन्दै पोखराका सहकारीपीडितमाथि गरिएको दमन निन्दनीय भएको बताए । ‘प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको घटना नयाँ होइन । सरकारले सहकारीपीडित जनलाई दमन गरेका, निन्दनीय हो,’ सुवालले भने ।

यसअघि बुधवार पोखरामा सहकारी पीडितले प्रचण्डलाई कालो झण्डा देखाएका थिए ।

सेयर गर्नुहोस्