मोदीको सपथ समारोहमा छिमेकी मुलुकलाई बोलाइयो, संसद भित्रकै विपक्षी दललाई भने छैन निम्तो

काठमाडौं । लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् ।

राष्ट्रपति भवनमा साँझ सवा ७ बजे प्रधानमन्त्री मोदी र केही मन्त्रीले सपथ लिने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रपति द्रौपदी मुर्मूले मोदीसहित केन्द्रीय मन्त्रिमण्डलका सदस्यलाई सपथ गराउने छिन् । भाजपाले गृह, रक्षा, अर्थ, विदेश जस्ता महत्वपूर्ण मन्त्रालय भने आफैंसँग राखेको छ । मोदीको शपथ ग्रहण समारोहलाई लक्षित गरी भारतभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सपथ समारोहमा छिमेकी मुलुकका सरकार प्रमुखलाई बोलाइए पनि देशभित्रकै विपक्षी पार्टीलाई भने निम्तो नगरिएको बीबीसी हिन्दीले जनाएको छ । कांग्रेस नेता जयराम रमेशले आफुहरुलाई निम्तो नआएको बताए ।

एनडीए गठबन्धनले अहिलेसम्म आफुहरुलाई निम्तो नगरेको रमेशले बताए ।

पश्चिम बंगालका मुख्यमन्त्री एवं टीएमसी नेतृ ममता बनर्जीले पनि निम्तो नआएको बताइन् ।

बनर्जीले आफु र तृणमूल कांग्रेसका कोही नेता पनि प्रधानमन्त्रीको सपथ समारोहमा भाग नलिने प्रष्ट पारिन् । उनले गठबन्धन सरकारको भविष्यनै अन्यौलमा रहेकाले सपथ समारोहको कुनै रौनक नभएको बताइन् । उनले मोदी नेतृत्वको गठबन्धन सरकार १५ दिन टिक्यो भने पनि अचम्म नमान्ने बताइन् ।

यसैबीच १० वर्षपछि भारतीय कांग्रेस लोकसभाको प्रमुख प्रतिपक्षी दल बनेको छ । कांग्रेसको संसदीय दलको बैठकले सोनिया गान्धीलाई दलको नेता चयन गरेको छ ।

 

सेयर गर्नुहोस्