विश्वकपका लागि सन्दीप वेस्ट इन्डिज पुगेपछि क्यानले निकाल्यो विज्ञप्ति

अमेरिकालले भिसा नदिएपछि अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा सुरुवाती खेल गुमाएका नेपाली टिमका लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्। नेपालले समूह चरणअन्तर्गत अमेरिकामा दुईवटा र वेस्टइन्डिजमा दुईवटा खेल खेल्दै छ

नेपालले वेस्ट इन्डिजमा बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्ने छ। उक्त दुई खेलका लागि सन्दीप वेस्ट इन्डिज पुगिसकेका छन्। उनी तीन घन्टाअघि वेस्ट इन्डिज पुगेका हुन्। क्यानले सन्दीपको वेस्ट इन्डिज यात्रा गोप्य राखेको थियो।

वेस्ट इन्डिज पुगेपछिमात्र क्यानले सन्दीपले वेस्ट इन्डिजमा खेल्नेबारेमा विज्ञप्ति जारी गर्‍यो। क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘जारी आइसिसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं।’

क्यानले विज्ञप्तिमा पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसीसामु पेश गरेको समेत जनाएको छ।

क्यानले अमेरिकी भिसा प्राप्त नभएता पनि आइसिसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने स्पष्ट पारेको छ। साथै क्यानले सन्दीप लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको समेत जनाएकाे छ।

क्यानले विज्ञप्तिमा भनेकाे छ, ‘अनावश्यक र आधारहीन वक्तव्यबाजीतर्फ नलागि, नेपाली क्रिकेटका शुभचिन्तक सबैले देखेको हाम्रो नेपाली क्रिकेटको उज्ज्वल भविष्य साकार पार्न यहाँको आफ्नो क्षमताले भ्याएसम्म स-साना भएपनि सकारात्मक टिप्पणीसहित प्रयास र पहल गरिदिनुहुने हार्दिक आह्वान गर्न चाहन्छौं। नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई, व्यक्तिगत तथा राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन अनुरोध गर्दछौं।’

सेयर गर्नुहोस्