बालेनको अर्को समाजवादी कदम– बीमा नगरी मजदुरलाई काममा लगाए कारबाही

काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामग्री राख्न रोक लगाएको छ । त्यसैगरी, मजदुरलाई अनिवार्य दुर्घटना बीमा गरेर मात्र काममा लगाउन पनि बालेन नेतृत्वको काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।

पूर्वाधार निर्माणका क्रममा सिर्जित वायु प्रदूषणसँगै मजदुर तथा नागरिकको जीवन रक्षालाई ख्याल गर्दै महानगरपालिकाले पूर्वाधार निर्माणसम्बन्धी मापदण्डहरू कडाइका साथ लागू गर्न अग्रसरता देखाएको हो ।

पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड स्मरण गराउँदै महानगरपालिकाले सडकमा निर्माण सामग्री थुपार्न पूर्णतः रोक लगाएको छ । पूर्वाधार निर्माणका क्रममा सडकमा निर्माण सामग्री थुपार्दा दुर्घटनासँगै आवागमनमा असहजता थपिएकाले यस्तो कदम चालिएको महानगरपालिकाको भनाइ छ ।

‘निर्माणका क्रममा प्रयोग हुने निर्माण सामग्री जस्तै– इँटा, बालुवा, गिट्टी, सिमेन्ट, छड, ह्युम पाइप आदि तथा भत्काएर आएका सामग्रीहरूको उचित व्यवस्थापन भवन निर्माणस्थलभित्रै या छुट्टै स्थानमा व्यवस्थापन गर्नुपर्नेछ,’ महानगरपालिकाले जारी गरेको पूर्वाधार निर्माणको आठबुँदे मापदण्डको पहिलो नम्बरमा भनिएको छ, ‘सार्वजनिक बाटोमा अवरोध हुने गरी निर्माण सामग्री तथा भत्काएर आएका सामग्री थुपार्न पाइने छैन ।’ भवन निर्माणस्थललाई पूर्ण रूपले जस्ताले घुर्नुपर्ने अर्को नियम पनि महानगरपालिकाले बनाएको छ ।

पूर्वाधार निर्माणका क्रममा सार्वजनिक स्थानमा निर्माण सामग्री राख्न नपाइने नियम भए पनि त्यसको बेवास्ता गर्दै सडक कब्जा गर्ने गरिएको छ । जसका कारण सडक आवागमन प्रभावित हुनुका साथै दुर्घटनाका घटनासमेत हुने गरेका छन् ।

अग्ला भवन निर्माणमा संलग्न कामदारलाई सुरक्षा विधि अपनाएर मात्र काममा लगाउनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्न पनि महानगरपालिकाले निर्देशन दिएको छ । महानगरपालिकाका अनुसार अग्ला भवन निर्माण अवधिभर कामदारहरूलाई सुरक्षाका विधि जस्तै : हेल्मेट, पन्जा, ज्याकेट, सेफ्टी, बेल्ट दिएर अनिवार्य प्रयोग गर्न लगाउनुपर्नेछ ।

‘अग्ला भवनहरू निर्माण गर्दा निर्माण अवधिभर संलग्न कामदारहरूलाई सुरक्षाका विधि जस्तै हेल्मेट, पञ्जा, ज्याकेट, सेफ्टी बेल्ट आदि प्रयोग गरी काम गर्न आवश्यक व्यवस्था मिलाउनुपर्नेछ,’ महानगरपालिकाद्वारा जारी सूचनाको दोस्रो नम्बरमा लेखिएको छ ।

पूर्वाधार निर्माणका क्रममा सुरक्षा सावधानी अपनाएर मात्र मजदुरहरूलाई काममा लगाउनुपर्ने भए पनि यसको परिपालना नभएको सन्दर्भमा महानगरपालिकाले अग्रसरता लिएको हो ।

समाजवादी कार्यमा निकै रुचि देखाएका बालेनले यसअघि शैक्षिक संस्थामा विपन्न र असहाय परिवारका सन्तानका लागि छुट्याइएको छात्रवृत्ति लागू गराएका थिए भने अस्पतालमा पनि प्रचलित ऐनअनुसार विपन्नको निःशुल्क उपचार हुने व्यवस्था गरेका थिए ।

मापदण्डमा निर्माणसम्बन्धी आयोजनाको विवरणसँगै निर्माण स्थलमा प्रवेश गर्न अपनाउनुपर्ने सुरक्षा विधि उल्लेख गरी सबैले देखिने ठाउँमा सूचना पाटी टाँस गर्नुपर्ने उल्लेख छ । त्यस्तै, घरधनीले भवन निर्माण थाल्नुपूर्व तेस्रो पक्ष र कामदारहरूको दुर्घटना बीमा अब अनिवार्य गर्नुपर्ने भएको छ ।

सडक तथा फुटपाथको निर्माण तथा मर्मत गर्दा भत्किएर आउने सामग्री निर्माणस्थलभन्दा बाहिर नआउने गरी छेक्नुपर्ने, बाटो बन्द गरेर काम गर्नुपर्ने अवस्था भएमा यससम्बन्धी जानकारी दिने सूचना बोर्ड राख्नुपर्ने, निर्माण कार्य सम्पन्नपश्चात पानीले सफा गरेर अनिवार्य सरसफाइ गर्नुपर्ने व्यवस्था पनि महानगरपालिकाले गरेको छ।

महानगरपालिकाको ८ बुँदे मापदण्ड अनिवार्य पालना गर्ने निर्देशन दिँदै अन्यथा कानूनी कारबाही गरिने जनाएको छ । ‘अनुगमनका क्रममा सुरक्षा मापदण्ड पालना नभएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने छ,’ महानगरपालिकाको सहरी व्यवस्थापन विभागले जारी गरेको सूचनामा भनिएको छ ।

सेयर गर्नुहोस्