आफ्नो नाम चलचित्रमा प्रयोग गरेको भन्दै बलिउड निर्माताले दर्ता गराए मुद्दा

बलिउड निर्माता तथा निर्देशक करण जोहरले शुक्रबारबाट रिलिज हुने फिल्म ‘शादी के डायरेक्टर करण और जोहर’का निर्माताविरुद्ध बम्बई हाई कोर्टमा मुद्दा दर्ता गरेका छन् । उनले फिल्मको नाममा आफ्नो नामको प्रयोग भएकाले त्यसलाई रोक्न माग गर्दै अदालतको ढोका ढकढक्याएका हुन् ।उनले मुद्दाको टुङ्गो नलागुन्जेलसम्म फिल्म रिलिज रोक्न पनि माग गरेका छन् ।

करणका वकिल पराग खण्डराका अनुसार यो मामलामा आज (बिहीबार)नै सुनुवाइ हुँदै छ । ‘फिल्मको नाममा करण जोहरको नाम प्रयोग गरेर निर्माताले म पनि यो फिल्ममा जोडिएको छु भनेर ठुलो मात्रामा जनताको मनमा भ्रम पैदा गरिरहेका छन् । आम जनता तुरुन्तै यो फिल्ममा जोडिन्छन् भन्ने भ्रम निर्मातामा छ । मैले फिल्मको नाम थाहा पाएपछि यसमा एक्सन लिएको हुँ’, करणले भनेका छन् ।करणले मुद्दामा फिल्मसँग आफ्नो कुनै सम्बन्ध नरहेको उल्लेख गर्दै निर्माताले गैर कानुनी रूपले आफ्नो नामको प्रयोग गरेको आरोप लगाएका छन् । यो फिल्म इण्डियाप्राइड एडभाइजरी प्रालिले बनाएको हो । फिल्ममा सञ्जय सिंह र बब्लू सिंहको निर्देशन छ ।

मुद्दामा फिल्मले करणको अधिकार, प्रचारको अधिकार र गोपनीयताको अधिकार उल्लङ्घन गरेको आरोप लगाइएको छ । ‘फिल्मको नाममा उनको नाम प्रयोग गर्नु करणको प्रतिष्ठान गिराउनका लागि गरिएको हो, जुन कानुनी रूपमा स्वीकार्य हुन्न । करण भारत र विश्वव्यापी रूपमा एक ठुला हस्ती हुन् । उनलाई करण जोहरको नामले चिनिन्छ । उनको नाम प्रयोग गर्नु भनेको करणको नाममा फाइदा उठाउनु हो’, मुद्दामा उल्लेख छ।

सेयर गर्नुहोस्