सांसद बरालले स्वास्थ्यजस्तो संवेदनशील विषयमा नागरिकमा राज्यविरुद्धको आक्रोस निर्माण हुने अवस्था भएकाले सरकारको गम्भीर बन्नुपर्ने बताइन्।
काठमाडौं : नेकपा एमालेकी सचेतक सुनिता बरालले ९ बजेको ओपीडीका लागि बिरामीले सरकारी अस्पतालमा बिहान ५ बजे नै लाइन बस्नुपर्ने कहिलेसम्म भन्दै प्रश्न गरेकी छन्। बिहीबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा उनले सरकारी अस्पतालमा जाँदा लाइन लाग्नुपर्ने बाध्यता अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।
एक मिनेट पनि कति धेरै महत्वपूर्ण हुन्छ यति शून्य समय सेसन स्मरण गरे पुग्छ तर आज सर्वसाधारण नागरिक हाम्रा सरकारी अस्पतालहरुमा घण्टौ लाइन लाग्ने अवस्था छ ।’उनले भनिन्, ‘९ बजे ओपीडी खुल्ने अस्पतालहरुमा बिहान ५ बजेदेखि लाइन हुने अवस्था छ । एउटा काउण्टरको साटो ३-४ काउण्टर राखेर टिकट काट्नैका लागि घण्टौ लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्यो ।’
उनले परीक्षण गर्दा टिकट लिएको बिरामी ल्याब दर्ता गर्न फेरि लाइन बस्नुपर्ने रिपोर्ट लिन फेरि लाइन बस्नुपर्ने र रिपोर्ट देखाउदा फेरि लाइन बस्नुपर्ने झन्झटपूर्ण अवस्था भएको जानकारी गराइन् । उनले भनिन्,‘अझ स्वास्थ्य बिमामा सूचीकृत भएका नागरिकहरुको बिमा दाबीका लागि प्रस्थान बिन्दूको अस्पताल र परीक्षण गराइएको अस्पतालको विषयमा बिलिङ काउण्टरमा लफडा भैरहेको देखिन्छ । बिमामा सूचीकृतहरुलाइ दोस्रो दर्जाको नागरिक जस्तो ब्यबहार गरेको गुनासो आइरहेको छ यो कैले बन्द हुन्छ ?’
उनले डाक्टरलाई जचाउँदा नै बिरामीले अनलाइनबाट सेवा लिन सक्ने अवस्था भए राम्रो हुने धारणा राखिन्। सांसद बरालले स्वास्थ्यजस्तो संवेदनशील विषयमा नागरिकमा राज्यविरुद्धको आक्रोस निर्माण हुने अवस्था भएकाले सरकारको गम्भीर बन्नुपर्ने बताइन्। उनले भनिन्, ‘अनलाइनबाट नै रिपोर्ट तथा औषधि र सल्लाह दिने व्यवस्था गर्ने गरी अनलाइन प्रणाली विकास गर्नेतिर समेत सम्बन्धित निकायको ध्यानाकर्षण होस् । स्वास्थ्यजस्तो संवेदनशील विषयमा नागरिकमा राज्यविरुद्धको आक्रोस निर्माण हुने यस्ता अवस्था भईरहेका अस्पतालहरुको विषयमा सरकारको गम्भिर ध्यानाकर्षण होस् ।’