२ असार, काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको बैठक बस्दैछ ।
बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजे बस्न लागेको हो । समितिका सचिव बबिता मिश्रका अनुसार आजको बैठकमा समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुसँग छलफल हुनेछ ।
संसदीय छानबिन विशेष समिति बन्नु अगाडि समितिको कार्यादेश टुंगो लगाउन कार्यदलमा प्रमुख तीन दलबाट एक एक जना र सरकारका तर्फबाट कानुनमन्त्री रहेको कार्यदल बनेको थियो ।
कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल सदस्य थिए ।कार्यदलका सदस्यहरुसँग समितिले कार्यादेशको विषयमा छलफल गर्न लागेको हो ।
यसका साथै समितिको आन्तरिक कार्यविधिमाथि समेत छलफल गर्ने समितिको तयारी छ ।
गत जेठ १५ गते समिति गठन भएको थियो ।
नेकपा एमालेका सांसद सूर्य थापा समितिको सभापति छन् । नेपाली कांग्रेसका ईश्वरी न्यौपाने र बद्री पाण्डे, एमालेकी सरिता भुसाल, नेकपा माओवादीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधान सदस्य छन् ।