काठमाडौं । २०७५ चैतको अन्तिम साताको कुरा थियो । दुईजना पण्डितले भद्रकाली मन्दिरमा जग्गेमा रेखी हाले । जग्गे वरपर रेखीमाथि केही टपरी राखियो ।
तर, टपरीमाथि धान र केही पैसा पनि । केरा, नरिवल अन्य फलफूल पनि थियो । चिटिक्क परेर चार/पाँचजना जन्ती जग्गेनजिकै आए । सारी लगाएका एक हुल महिला पनि थिए । हुलबीच हाँस्दै आइन्— बेहुली । अब जग्गे वरपर दश/बाह्रजना जति जन्ती जम्मा भए । चिटिक्क ढाँटिएर आइपुगे— बेहुला ।
जग्गेको दायाँबाट दुबैतिर थिए क्यामरापर्सन । एकजना फोटोको लागि र अर्का थिए भिडिओ खिच्ने । उनीहरूले क्यामरा अन गर्दै भने— रेडी थ्री, टू, वान् गो !पण्डितले मन्त्रोच्चारण सुरु गरे । मन्त्रोच्चारण पनि के भन्नु भटभटाएजस्तो मात्र गरे । किनकि उनीहरू साँच्चैका पण्डित थिएनन् । भेष मात्र थियो पण्डितको । बेहुला-बेहुलीको एङ्गल मिलाइ-मिलाइ फोटो र भिडिओ खिच्न थालियो ।
बेहुला शान्त थिए । तर, बेहुली अघिदेखि नै चञ्चल र हाँसिरहेकी थिइन् । एकजनाले बेहुलीलाई हकार्दै भने, “तिमी अघिदेखि हाँसेको हाँस्यै छौँ । अनुहार अलि अँध्यारो बनाऊ ।”
एकछिनमा सिन्दूर हाल्ने बेला भयो । क्यामरामेन भन्दै थिए, “ए, एकछिन एकछिन । एङ्गल अलि मिलेन ।” लगनगाँठो कसेर बेहुला-बेहुली जग्गे घुम्न थाले । यसरी करिब आधा घण्टामै सकियो बिहे ।
त्यो शैली हेर्दा बिहे हेर्दा लाग्थ्यो, सक्कली होइन । यहाँ कुनै फिल्मका लागि बिहेको सिन सुटिङ भइरहेको छ । हो, बिहे सक्कली त थिएन तर, कुनै फिल्म वा म्युजिक भिडिओ सुटिङ पनि थिएन ।
२०७५ चैत २९ गते बिहे गर्ने जोडी काठमाडौं जिल्ला अदालतमा बिहे दर्ता गराउन । साथमा बुवा आमा थिएनन् । साक्षीका रूपमा दुवैका साथीहरू मात्र थिए ।
कानुनी बिहे सकेर केटा केटी आ-आफ्ना घर गए । केटी बिहेलगत्तै अमेरिका उडिन् । उनको अमेरिकाको भिसा आइसकेको थियो । २०७६ वैशाखमा केटी अमेरिका गइन् । यता केटा आफ्नै घरमा कामकाजमा व्यस्त थिए ।
२९ जुन २०२२ अर्थात् २०७९ असार १५ गते केटा डिपेन्डेण्ड भिसामा अमेरिका गए । केटी अमेरिका गएको तीन वर्षपछि केटा अमेरिका पुगे । अमेरिका पुगेपछि केटीलाई भेटे । केटीका भाइ र बुवा पनि उतै थिए ।
उनीहरू सँगै बस्थे । केटा पुगेपछि उनलाई केही दिन केटीले परिवारसँगै राखिन् । तर, सधैँ ससम्भव थिएन । केटीले केही दिनपछि ‘एल्महर्स्ट, क्वीन्स’मा अलगै कोठा लिइन् । केटाकेटी दुवैजना बस्न थाले । बुबा र भाइ छुट्टै बस्न थाले ।
२०७९ कात्तिक ७ गते केटी एक्लै नेपाल फर्किइन् । केटा उतै थिए । केटीका बुवा र भाइ पनि अमेरिकामै थिए । केटी नेपाल आएको डेढ वर्षपछि गत जेठ पहिलो साता केटी काठमाडौं प्रहरीमा पुगिन्, उजुरी लिए । उजुरी थियो, पतिविरुद्धको वैवाहिक बलात्कारको ।
आफू अमेरिकामा हुँदा छुट्टै कोठा लिएर बस्न थालेपछि पतिले बलात्कार गरेको उनको उजुरीमा उल्लेख छ । साधारणतया बलात्कार मुद्दाको हदम्याद वर्ष दिन हो । तर, केटीको मुद्दा भने डेढ वर्षपछि २०८१ जेठ पहिलो साता दर्ता भयो ।
केटीले ३१ जुलाई अर्थात् ०७९ साउन १५ गते पहिलो पटक बलात्कार गरेको आरोप लगाउँदै उजुरी लेखेकी छिन् । यस्तै त्यसको ६ दिनपछि ६ अगस्ट अर्थात् साउन २१ गते बाथरुममा नुहाउँदै गर्दा पतिले बलात्कार गरेको उजुरीमा लेखिएको छ ।
“०७९ साउन १५ गते मेरो मन्जुरीबिना जबरजस्ती रूपमा मलाई डर धाकधम्की दिइ पटकपटक शारीरिक सम्पर्क राखेको, त्यसपछि अगस्ट ६, २०२२ मा बाथरुममा नुहाउन जाँदासमेत त्यहीँ सम्पर्क राख्ने र यस्तो कुरा कसैलाई भनिस् भने तँलाई म जे पनि गर्न सक्छु भनी डर त्रास देखाइ पटकपटक अप्राकृतिक तरिकाले शारीरिक सम्पर्क गर्नुभयो, गर्न नदिए म तँलाई यही बेपत्ता पारिदिन्छु भनेका थिए,” केटीले निवेदनमा भनेकी छिन् ।
पटकपटक आफ्नो मन्जुरी बेगर अप्राकृतिक मैथुन गर्ने र जबरजस्ती करणी गर्ने गरेकोले आफूलाई पीडा भइ घाउसमेत भएको केटीले जाहेरीमा लेखेकी छिन् ।
प्रहरीमा केटीका बुवाले पनि बयान दिएका छन् । उनले आफ्नी छोरी नेपाल फर्केरजाँदा आफू अमेरिकामै रहेको बताएका छन् । त्यो बेलामा ज्वाइँसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन नचाहेको बताएका छन् । पछि नेपाल फर्किएपछि घटनाबारेमा थाहा पाएको उनले बताएका छन् ।
“म अमेरिका हुँदै गर्दा मैले छोरीलाई किन एक्लै नेपाल गएको र ज्वाइँ कहाँ हुनुहुन्छ ? भनी सोधपुछ गर्दा केही भनिन् । पछि नेपाल आए । ज्वाइँको बारेमा कुरा गर्न नदिने, ज्वाइँसँग फोन सम्पर्क नराख्ने गरेकोले छोरीलाई पटकपटक सम्झाइ-बुझाइ गरी सोधपुछ गर्दा आफू ज्वाइँबाट बलात्कृत भएको बताइन्,” केटीका बुवाको बयान छ ।
अध्ययन वा रोजगारीका लागि बिदेसिने युवाहरू बढिरहेका छन् । यससँग कानुनी रूपमा मात्र विवाह गर्ने क्रम पनि बढेको छ । कानुनी विवाह बिदेसिन सजिलोको माध्यम बनेको छ । सँगै दीर्घकालीन रूपमा भने यसको व्यवस्थापन पनि चुनौती र हैरानीको विषय बन्दै गएको छ ।
एक्लै भन्दै सँगै जाँदा खर्च कम लाग्ने भएकाले कानुनी विवाह गरेर डिपेन्डेसीमा बिदेसिने क्रम बढेको हो । तर, बिदेसिनका लागि कानुनी विवाह भइसक्दासमेत विवाह वास्तविक हो/होइन भन्ने विवाद हुने गरेको छ । केटा इन्डिपेन्डेन्ट हुँदा केटी डिपेन्डेन्टमा जान्छन् । केटी इन्डिपेन्डन्ट हुँदा केटा डिपेन्डेन्ट भिसामा बिदेसिने गरेका छन् ।तर, कानुनी रूपमा मात्र हुने विवाहले उनीहरूलाई विदेशमा गएपछि फर्कँदा मात्र होइन, जान नै नमिल्दासमेत समस्या पर्ने गरेको छ ।
कानुनी विवाह वास्तविक विवाहमा परिणत हुन नसक्दा झमेला आइरन्छन् । किनकि यस्तोमा एकजनाको भिसा आएमा डिपेन्डेन्टमा जानेले पैसा लगानी लगाइदिने चलन छ ।
पछि डिपेन्डेन्टमा जाने भने सित्तैमा जान पाउँछन् । तर, पछि केटाकेटीबिच झमेला हुने गर्दछ । माथि उल्लेखित घटनामा भने साँच्चै बलात्कार हो वा यस्तै झमेलाबाट सिर्जना भएको मुद्दा हो भन्ने अनुसन्धान भइरहेको छ । केटा अहिले अमेरिकामै छन् । यसैले प्रहरीले केटालाई फरारको सूचीमा राखेको छ